वीरगंज भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा रु २ खर्ब ४३ अर्ब ८२ करोड राजस्व सङ्कलन गरेको छ ।
यो रकम कार्यालयलाई तोकिएको वार्षिक लक्ष्यको ८९.१९ प्रतिशत रहेको कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार गत आर्थिक वर्षका लागि वीरगंज भन्सारलाई रु २ खर्ब ७३ अर्ब ३७ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य दिइएको थियो । लक्ष्यअनुसार पूर्ण उपलब्धि हासिल हुन नसके पनि वीरगंज भन्सारले मुलुककै प्रमुख राजस्व सङ्कलन गर्ने कार्यालयका रूपमा आफ्नो महत्वपूर्ण भूमिका कायम राखेको जनाएको छ ।
भन्सार विभागले आर्थिक वर्ष २०८२/८३ मा देशभरका भन्सार कार्यालयमार्फत कुल रु ५ खर्ब ८८ अर्ब २५ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । उक्त लक्ष्यमध्ये वीरगंज भन्सार कार्यालयको हिस्सा ४१.४५ प्रतिशत रहेको छ ।
कार्यालयले सार्वजनिक गरेको मासिक विवरणअनुसार साउनमा रु १८ अर्ब ४४ करोड, भदौमा रु २० अर्ब ७४ करोड, असोजमा रु १९ अर्ब ९ करोड, कात्तिकमा रु १७ अर्ब ३३ करोड, मङ्सिरमा रु २० अर्ब ८० करोड, पुसमा रु २० अर्ब २० करोड, माघमा रु १८ अर्ब ९२ करोड, फागुनमा रु १९ अर्ब ३४ करोड, चैतमा रु २२ अर्ब ८२ करोड, वैशाखमा रु २१ अर्ब ७४ करोड, जेठमा रु २२ अर्ब ३२ करोड र असारमा रु २२ अर्ब ४ करोड राजस्व सङ्कलन भएको छ ।
वीरगंज भन्सार कार्यालय नेपालको सबैभन्दा ठूलो राजस्व सङ्कलन गर्ने भन्सार कार्यालयहरूमध्ये एक हो। यस कार्यालयले राष्ट्रिय राजस्व सङ्कलनमा निरन्तर महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।