मनसुनको सुरुवातसँगै आउन सक्ने सम्भावित प्राकृतिक विपद् र त्यसको प्रभाव न्यूनीकरणका लागि वीरगंज महानगरपालिकाले पूर्वतयारीलाई तीव्र बनाउने निर्णय गरेको छ ।
शनिबार कार्यवाहक प्रमुख इम्तियाज आलमको अध्यक्षतामा नगर विपद् व्यवस्थापन मूल समितिको आकस्मिक बैठक सम्पन्न भएको हो । कार्यवाहक प्रमुखको सचिवालयमा बसेको बैठकले मनसुनजन्य जोखिम न्यूनीकरण, अनुगमन, स्वास्थ्य सेवा व्यवस्थापन तथा वडा कार्यालयहरूलाई तयारी अवस्थामा राख्ने विषयमा महत्त्वपूर्ण निर्णय गरेको छ ।
बैठकले मनसुन सक्रिय भइसकेकाले सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक स्रोत–साधन, जनशक्ति तथा पूर्वतयारीलाई चुस्त राख्ने निर्णय गरेको छ । साथै, मौसम पूर्वानुमान तथा पूर्वसूचना प्रणालीसँग निरन्तर समन्वय गर्दै सम्भावित विपद्को पूर्वतयारीलाई थप प्रभावकारी बनाइने जनाइएको छ ।
महानगरपालिका क्षेत्रका केही स्थानमा मनसुनका कारण समस्या देखिन थालेको भन्दै तत्काल अनुगमन टोली परिचालन गर्ने निर्णय पनि बैठकले गरेको छ । उक्त टोलीले प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी समस्याको मूल्याङ्कन गर्ने, आवश्यक समाधानका उपाय अवलम्बन गर्ने तथा सम्भावित जोखिमको आकलन गरी राहत तथा उद्धारको पूर्वतयारी गर्नेछ ।
बैठकले विपद्का समयमा स्वास्थ्य क्षेत्रमा आउन सक्ने चुनौतीलाई ध्यानमा राख्दै आवश्यक औषधि, स्वास्थ्य सामग्री तथा स्वास्थ्य सेवाको भरपर्दो व्यवस्थापन गर्ने निर्णय गरेको छ । सम्भावित महामारी तथा स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै सम्पूर्ण स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राख्ने तथा आवश्यक समन्वय र पत्राचार गर्ने निर्णयसमेत गरिएको छ ।
त्यसैगरी, सम्भावित विपद्को जोखिमलाई ध्यानमा राख्दै महानगरभित्रका सबै वडा कार्यालयलाई पूर्ण तयारी अवस्थामा रहन निर्देशन दिने तथा आवश्यक पूर्वतयारीका लागि तत्काल पत्राचार गरिने निर्णय पनि बैठकले गरेको छ ।
कार्यवाहक प्रमुख इम्तियाज आलमको अध्यक्षतामा सम्पन्न बैठकमा प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर बोहरा, अवधेशप्रसाद कुशवाहा, हरिशंकरप्रसाद कुर्मी, राकेश साह, विभा मिश्रा, सफुदिन मियाँ, हरिप्रसाद भुसाल तथा स्वास्थ्य शाखा प्रमुख राजुप्रसाद साहलगायतको उपस्थिति रहेको थियो ।
वीरगंज महानगरपालिकाले मनसुनजन्य विपद्बाट हुन सक्ने सम्भावित क्षति न्यूनीकरण गर्दै नगरवासीको सुरक्षा सुनिश्चित गर्न सम्पूर्ण संयन्त्रलाई उच्च तयारी अवस्थामा राखिएको जनाएको छ ।