वीरगंज महानगरपालिकामा चार वर्षअघि करार सेवाबाट हटाइएका एक कर्मचारीको नाममा चालु आर्थिक वर्षको चार महिनाको तलब भुक्तानी गरिएको तथ्य सार्वजनिक भएको छ । घटनाले महानगरभित्र आर्थिक अनियमितता भएको आशंका थप बलियो बनाएको छ ।
स्थानीय स्रोतका अनुसार हाल निलम्बनमा रहेका नगरप्रमुख राजेशमान सिंह निर्वाचित भएपछि हटाइएका ४६ जना करार कर्मचारीमध्ये चौथो तहमा कार्यरत रहेका रोशनकुमार कुर्मीको नाममा चैतदेखि असारसम्म ११९ दिन काम गरेको विवरण तयार गरी एक लाख २७ हजार रुपैयाँ भुक्तानी गरिएको छ ।
तर, स्थानीयको दाबी अनुसार कुर्मीको करार सेवा चार वर्षअघि नै समाप्त भइसकेको थियो । त्यसयता उनले महानगरपालिकामा कुनै जिम्मेवारी नसम्हाली वडा नम्बर १६ मा कोल्ड ड्रिंक्सको पसल सञ्चालन गर्दै आएका छन् । उनी उक्त अवधिमा कार्यालयमा उपस्थित नभएको अवस्थामा समेत हाजिरी विवरण तयार गरी तलब निकासा गरिएको आरोप लागेको छ ।
स्रोतका अनुसार यो घटना एक्लो नभई महानगरभित्र यस्तै प्रकृतिका अन्य भुक्तानीसमेत भएको दाबी गरिएको छ । विभिन्न शाखाबाट करार कर्मचारीको हाजिरी तयार गरी प्रशासन शाखामार्फत लेखा शाखामा पठाइने र त्यसपछि लेखापाल अजय साहसँगको मिलेमतोमा भुक्तानी प्रक्रिया सम्पन्न हुने गरेको आरोप स्रोतको छ । यस्ता भुक्तानीमा ५० प्रतिशतसम्म कमिशनको आधारमा मिलेमतो हुने गरेको दाबी पनि गरिएको छ ।
महानगरपालिकाले हाल दरबन्दीबाहिरका कर्मचारीलाई करार सेवामा नराख्ने नीति लागू गरिरहेको अवस्थामा विगतमै सेवा समाप्त भएका कर्मचारीको नाममा तलब निकासा भएको आरोपले प्रशासनिक पारदर्शिता, सुशासन र आर्थिक अनुशासनमाथि गम्भीर प्रश्न खडा गरेको छ ।
यद्यपि, यस विषयमा वीरगञ्ज महानगरपालिकाका सम्बन्धित अधिकारी तथा आरोपित पक्षको आधिकारिक प्रतिक्रिया प्राप्त हुन सकेको छैन । आरोपको सत्यता पुष्टि गर्न निष्पक्ष छानबिन गरी वास्तविकता सार्वजनिक गर्न स्थानीयवासीले माग गरेका छन् ।