मधेस प्रदेश सरकारको बजेटबाट पर्साको बहुदरमाई नगरपालिका–५ मा निर्माण गरिएको श्मशानघाट पहिलो वर्षामैं बाढीले क्षतिग्रस्त भएपछि निर्माणको गुणस्तरमाथि प्रश्न उठेको छ ।
करीब पाँच लाख रुपैयाँको लागतमा निर्माण गरिएको उक्त श्मशानघाट निर्माण सम्पन्न भएको केही दिनमै आएको बाढीले आधाभन्दा बढी भाग बगाएको स्थानीयवासीले बताएका छन् ।
स्थानीय लालजी साहका अनुसार प्राविधिक मापदण्ड र आवश्यक सावधानी नअपनाई हतारमा संरचना निर्माण गरिएको थियो । नदी किनारमा निर्माण गरिएको संरचनाका लागि बाढीको जोखिम मूल्याङ्कन, तट संरक्षण तथा दीर्घकालीन सुरक्षाका उपायहरू नअपनाइएको स्थानीयको आरोप छ ।
स्थानीयवासीले सार्वजनिक बजेटबाट निर्माण भएको संरचना पहिलो वर्षामै क्षति हुनु विकास निर्माणमा भएको लापरवाहीको संकेत भएको बताएका छन् । उनीहरूले निर्माण कार्यको गुणस्तर, लागत र अनुगमन प्रक्रियामाथि निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।
त्यस्तै, केही स्थानीयले प्राविधिक मूल्याङ्कन प्रक्रियामासमेत अनियमितता भएको आशङ्का व्यक्त गर्दै वास्तविकता सार्वजनिक गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन् । स्थानीयको मागअनुसार घटनाको प्राविधिक परीक्षण, क्षतिको मूल्याङ्कन तथा दोषी देखिएका पक्षमाथि आवश्यक कारबाही हुनुपर्ने बताइएको छ ।