वीरगंज महानगरपालिका–२३ स्थित सबैठवामा विगत चार वर्षदेखि विवादका कारण बन्द रहेको नाला (ढल निकास) कार्यवाहक नगर प्रमुख इम्तियाज आलमको पहलमा खुलाइएको छ । नाला खुलेसँगै वर्षायाममा हुने जलमग्नताको समस्या समाधान हुने अपेक्षा गरिएको छ ।
स्थानीयका अनुसार पानी निकासका लागि जडान गरिएको होम पाइप लामो समयदेखि बन्द भएपछि सामान्य वर्षामा पनि सडक र बस्ती डुबानमा पर्ने समस्या थियो। पानी निकास अवरुद्ध हुँदा स्थानीयवासीले वर्षौंदेखि सास्ती खेप्दै आएका थिए ।
यस समस्याको समाधानका लागि सबैठवाका स्थानीय बासिन्दाले कार्यवाहक नगर प्रमुख आलमसमक्ष निवेदन दिएपछि उनले तत्काल महानगरपालिकाको सरसफाइ शाखालाई आवश्यक पहल गर्न निर्देशन दिएका थिए ।
निर्देशनपछि सरसफाइ शाखाका प्रमुख सरफोदिन मियाँ नगर प्रहरीको टोलीसहित घटनास्थल पुगेका थिए । महानगरले जेसिबी (JCB) र स्विपरको प्रयोग गरी बन्द रहेको होम पाइप खुलाएर नालाको निकास सञ्चालनमा ल्याएको जनाएको छ ।
विगत चार वर्षदेखि समाधान हुन नसकेको समस्या कार्यवाहक नगर प्रमुख आलमको पहलमा दुई दिनभित्रै समाधान भएपछि स्थानीयवासीले खुसी व्यक्त गरेका छन् । नाला सञ्चालनमा आएपछि वर्षाको पानी सहज रूपमा बग्न थालेको र अब जलमग्नताको समस्या हट्ने विश्वास स्थानीयको छ ।
स्थानीयवासीले कार्यवाहक नगर प्रमुख आलमप्रति धन्यवाद व्यक्त गर्दै समस्या समाधानका लागि देखाएको सक्रियताको प्रशंसा गरेका छन् । एक स्थानीयले भने, "यदि नेतृत्वले चाहेको भए यो समस्या चार वर्षअघि नै समाधान हुन सक्थ्यो। इच्छाशक्ति भए काम गर्न समय लाग्दैन भन्ने कुरा कार्यवाहक मेयरले दुई दिनमै प्रमाणित गर्नुभएको छ ।"
यसअघि सामान्य वर्षा हुँदा पनि सडक जलमग्न भई आवतजावतमा कठिनाइ हुने गरेकोमा अब नाला सञ्चालनमा आएपछि उक्त समस्या दीर्घकालीन रूपमा समाधान हुने अपेक्षा गरिएको छ ।