बाराको सुवर्ण गाउँपालिका–७ चौरहियामा धान खेतमा जमेको पानीमा डुबेर १८ महिने एक बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा महागढीमाई नगरपालिका–९ बलुवा निवासी राजेन्द्र महतोकी १८ महिनीया छोरी लालु कुमारी महतो रहेकी छन् । उनी केही दिनदेखि मामा घर चौरहियामा आएकी थिइन् ।
प्रहरीका अनुसार आइतबार साँझ करिब ५ः३० बजे मामा घर पछाडि रहेको तारा चन्द साहको धान खेतमा जमेको पानीमा खेल्ने क्रममा बालिका अचानक डुबेर बेपत्ता भएकी थिइन् । स्थानीयले तत्काल खोजी गरी बाहिर निकाले पनि उनको ज्यान बचाउन सकेनन् ।
घटनापछि बालिकाको शव मामा घरमा ल्याइएको जानकारी साँझ ६ः१५ बजे प्रहरी चौकी बड्कीफुलबरियामा प्राप्त भएको थियो । सूचना प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षक रामविध्या साहको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेर आवश्यक सुरक्षा तथा प्रारम्भिक अनुसन्धान गरेको थियो ।
घटनाको कानुनी प्रक्रिया पूरा गर्न जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक विमल खतिवडाको नेतृत्वमा मुचुल्का टोली खटिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।