बाराको प्रसौनी गाउँपालिकामा एलपी ग्यास चुहिएर आगलागी हुँदा एक जना घाइते भएका छन् ।
घाइते हुनेमा पर्साको सखुवाप्रसौनी गाउँपालिका–३ घर भई हाल बाराको प्रसौनी गाउँपालिका–५ बहुअरी टोलमा डेरा गरी बस्दै आएका ३३ वर्षीय महेश पटेल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार गए राति आफ्नै कोठामा खाना पकाउने क्रममा अचानक एलपी ग्यास लिक भएपछि उनको लगाएको सर्टमा आगो सल्किएको थियो ।
आगलागीबाट पटेलको अनुहार, छाती, पिठ्युँ तथा दुवै हात जलेका छन् । उनलाई तत्काल उपचारका लागि पर्सास्थित गण्डक अस्पतालमा भर्ना गरिएको छ । अस्पतालका अनुसार उनको अवस्था मध्यम रहेको छ । उपचारका क्रममा उनका आफन्तहरू पनि अस्पतालमा उपस्थित रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।