बाराको सदरमुकाम कलैयास्थित मानमत–मटिअर्वा–कलैया सडकखण्डको बजार क्षेत्रभित्र पर्ने करिब साढे तीन किलोमिटर सडक वर्षौंदेखि निर्माणको प्रतीक्षामा रहँदा स्थानीयवासीले हरेक वर्ष उस्तै समस्या भोग्दै आएका छन् ।
निर्माण कार्य अघि बढ्न नसक्दा सामान्य वर्षा हुँदा पनि सडक हिलाम्मे हुने र विभिन्न स्थानमा पानी जम्ने समस्या दोहोरिँदै आएको छ। सडकको दयनीय अवस्थाका कारण पैदल यात्रुदेखि सवारी चालकसम्म प्रभावित बनेका छन् । कलैयाका भरतचोक, देवकोटा चोकलगायतका व्यस्त बजार क्षेत्रमा सडकको सतह बिग्रिएका कारण पानी निकास हुन नसक्दा वर्षाको पानी सडकमै जम्ने गरेको स्थानीय बताउँछन् । यसबाट पैदल यात्रु, साइकल तथा मोटरसाइकल चालक, एम्बुलेन्स र सार्वजनिक यातायात सञ्चालनमा समेत समस्या हुने गरेको छ ।
सडकको अवस्थाले व्यापारिक गतिविधिसमेत प्रभावित भएको व्यवसायीहरूको गुनासो छ । सुख्खायाममा धुलो र वर्षायाममा हिलोको समस्याले बजार क्षेत्रको दैनिक जनजीवन नै प्रभावित हुने गरेको उनीहरूको भनाइ छ ।
पटक–पटक ठेक्का प्रक्रिया, अझै निर्माण अनिश्चित
यो सडक निर्माणका लागि विगतमा पटक–पटक ठेक्का प्रक्रिया अघि बढाइए पनि प्रशासनिक र प्राविधिक समस्याका कारण प्रक्रिया निष्कर्षमा पुग्न सकेकाे छैन् ।
लामो समयदेखि अलपत्र रहेको आयोजनाका लागि हुलाकी राजमार्ग निर्देशनालयले यसअघि भएका सबै ठेक्का प्रक्रिया रद्द गरी पुनः नयाँ ठेक्का आह्वान गरेको छ । यो चौथो पटकको प्रयास भए पनि निर्माण कार्य कहिलेदेखि सुरु हुने भन्ने अझै निश्चित हुन सकेको छैन । स्थानीयवासीले वर्षौंदेखि अधुरो रहेको सडक तत्काल निर्माण सम्पन्न गर्न सम्बन्धित निकायसँग माग गरेका छन् । विकास आयोजनामा हुने ढिलाइका कारण नागरिकले वर्षौंदेखि सास्ती खेप्नुपरेको भन्दै उनीहरूले जिम्मेवार निकायलाई प्रभावकारी पहल गर्न आग्रह गरेका छन् ।
सडकको अवस्था बिग्रँदै जाँदा दुर्घटनाको जोखिमसमेत बढ्दै गएको स्थानीयको भनाइ छ । अब थप ढिलाइ नगरी निर्माण कार्य अघि बढाउनुपर्ने उनीहरूको माग रहेकाे छ ।