रौतहटको दुर्गाभगवती गाउँपालिका–५ बडहर्वास्थित ९ नम्बर स्परनजिक नदी कटान तीव्र बन्दै गएपछि स्थानीयवासी त्रसित बनेका छन् ।
वर्षासँगै नदीको बहाव बढेपछि कटानले तीव्र रूप लिएपछि सम्भावित जोखिमको अवस्था बुझ्न प्रतिनिधिसभा सदस्य राजेश चौधरीले आइतबार प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् ।
निरीक्षणका क्रममा सांसद चौधरीले कटान प्रभावित क्षेत्रको अवलोकन गर्नुका साथै स्थानीयवासीसँग छलफल गर्दै उनीहरूले भोगिरहेका समस्या, जोखिम र चिन्ताबारे जानकारी लिएका थिए । नदी कटानका कारण आसपासका बस्ती, खेतीयोग्य जमिन तथा स्थानीय भौतिक संरचनामा जोखिम बढ्दै गएको भन्दै स्थानीयले तत्काल प्रभावकारी संरक्षणका उपाय अवलम्बन गर्न माग गरेका छन् ।
सांसद चौधरीले नदी कटान नियन्त्रण तथा नागरिकको सुरक्षा सुनिश्चित गर्न आवश्यक पहल अघि बढाइने प्रतिबद्धता व्यक्त गरे । उनले सम्बन्धित सरकारी निकायसँग समन्वय गरी तत्काल प्राविधिक अध्ययन, तट संरक्षणका काम तथा जोखिम न्यूनीकरणका उपाय कार्यान्वयनका लागि पहल गरिने बताए । वर्षायाममा नदीको बहाव अझ बढ्न सक्ने भएकाले समयमै नियन्त्रणका काम अघि बढाउनुपर्नेमा उनले जोड दिए ।
स्थानीयवासीले हरेक वर्ष वर्षायाममा नदी कटानको समस्या दोहोरिने गरेको गुनासो गर्दै दीर्घकालीन समाधानको माग गरेका छन् । उनीहरूले अस्थायी उपायभन्दा प्रभावकारी तटबन्ध निर्माण, स्परको मर्मत तथा आवश्यक संरचना निर्माण गरी बस्ती र खेतीयोग्य जमिनको संरक्षण गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।
नदी कटान तीव्र बन्दै गएपछि प्रभावित क्षेत्रमा बसोबास गर्ने नागरिकमा थप त्रास फैलिएको छ । समयमै नियन्त्रणका काम अघि नबढाइए बस्ती, सडक तथा अन्य भौतिक संरचनामा ठूलो क्षति पुग्न सक्ने स्थानीयको भनाइ छ । स्थानीयले सम्बन्धित निकायले जोखिमको मूल्याङ्कन गरी आवश्यक संरक्षणका काम तत्काल अघि बढाउने अपेक्षा गरेका छन् ।