बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा सोमबार दिउँसो नदीमा डुबेर तीन वर्षीया बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका–३ निवासी अली हुसेनकी तीन वर्षीया छोरी फुलतारा खातुन रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । प्रहरीका अनुसार फुलतारा आफ्नी आमा सलियान खातुनसँग जीतपुरसिमरा उपमहानगरपालिका–७ स्थित पहाडी टोलमा आफन्त दिदी नाता पर्ने जबैदा खातुनको घर गएकी थिइन् । सोही क्रममा घर नजिकै रहेको सरिसवा नदी किनारमा खेलिरहेका बेला उनी अचानक नदीमा डुबेको प्रहरीले जनाएको छ ।
घटनापछि आमा सलियान खातुनले तत्काल नदीबाट बालिकाको उद्धार गरी उपचारका लागि जीतपुरसिमरा नगर अस्पताल पुर्याएकी थिइन् । तर अस्पताल पुगेलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेका अनुसार घटनाबारे आवश्यक अनुसन्धान भइरहेको छ ।