बाराको प्रसौनी गाउँपालिकामा सोमबार साँझ खेत जोत्ने क्रममा ट्याक्टर अनियन्त्रित भई पोखरीमा पल्टिँदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा प्रसौनी गाउँपालिका–५ प्रस्टोका निवासी २८ वर्षीय तेजनारायण साह रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार प्रसौनी गाउँपालिका–७ बन्जरीस्थित खेत जोत्ने क्रममा ना ७ त ४३८३ नम्बरको ट्याक्टर अनियन्त्रित भई नजिकैको पोखरीमा पल्टिएको थियो ।
दुर्घटनालगत्तै गम्भीर घाइते भएका साहलाई उपचारका लागि कलैयास्थित प्रादेशिक अस्पताल लगिएको थियो। तर अस्पताल पुगेपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।