बाराको कलैया उपमहानगरपालिका–४ स्थित गुप्ता पेट्रोल पम्प नजिक भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
प्रहरीका अनुसार बुधबार राति करिब साढे १२ बजेको समयमा बरियारपुरबाट कलैयातर्फ आउँदै गरेको बा १ क ४८३६ नम्बरको टाटा कम्पनीको खाली मिनी ट्रक अनियन्त्रित भई सडकको बायाँतर्फ रहेको स्थानीय सुरेश साह कानुको घरमा ठोक्किएको थियो ।
दुर्घटनामा मिनी ट्रकमा सवार जितपुर–सिमरा उपमहानगरपालिका–८ इमलीप्रति निवासी करिब ५० वर्षीय देव नारायण चौधरी घाइते भएका छन् । उनको टाउको तथा दुवै हातखुट्टामा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । घाइते चौधरीको उपचार प्रादेशिक अस्पताल कलैयामा भइरहेको छ ।
यस्तै, सोही दुर्घटनामा घाइते भएका ४० वर्षीय शिवनारायण पासवानको उपचारका क्रममा प्रादेशिक अस्पताल कलैयामा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनाको जानकारी पाएलगत्तै अस्थायी प्रहरी पोष्ट बसपार्क बाराबाट प्रहरी सहायक निरीक्षक रमेश राय चनउको नेतृत्वमा दुई जना प्रहरी तथा जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक हुमानन्द खनालको नेतृत्वमा ट्राफिकसहितको टोली घटनास्थलमा पुगेको थियो ।
प्रहरीले दुर्घटनामा संलग्न मिनी ट्रक चालक रौतहटको गुजरा नगरपालिका–९ सिमरा भवानीपुर निवासी २७ वर्षीय राजु कुमार चौधरीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बारामा पठाएको जनाएको छ ।
दुर्घटनाबाट मिनी ट्रकको अगाडिको भागमा क्षति पुगेको छ भने घरको एक छेउको पर्खालसमेत भत्किएको छ । घटनास्थलमा सडक अवरोध नरहेको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।