जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले कानुनविपरीत जडान गरिएका कालो सिसा (टिन्टेड ग्लास) तथा कालो स्टिकर हटाउने अभियानलाई तीव्रता दिएको छ ।
अभियानअन्तर्गत हालसम्म ७१२ वटा सवारीसाधन जाँच गर्दा १११ वटा सवारीसाधनबाट अवैध रूपमा जडान गरिएका कालो सिसा तथा कालो स्टिकर हटाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
ट्राफिक प्रहरीले गत असार १७ गतेदेखि कालो सिसा हटाउने अभियान सञ्चालन गर्दै आएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक खगेन्द्र दाहालले आपराधिक गतिविधि नियन्त्रण तथा शंकास्पद गतिविधिमाथि निगरानी बढाउने उद्देश्यले अभियान सञ्चालन गरिएको बताउनुभयो ।
उहाँका अनुसार सवारीसाधनका कालो सिसा तथा कालो स्टिकर हटाउँदा आपराधिक गतिविधि, अवैध कारोबार, फरार अपराधीको आवागमन, हतियार ओसारपसारलगायतका गतिविधि नियन्त्रण गर्न तथा शंकास्पद व्यक्तिको पहिचान गर्न सहज हुनेछ ।
प्रहरी निरीक्षक दाहालका अनुसार सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ३९ तथा सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ को नियम १२ अनुसार राष्ट्रपति र प्रधानमन्त्रीबाहेक अन्य विशिष्ट व्यक्ति तथा सर्वसाधारणले तोकिएको प्रक्रिया पूरा गरी अधिकतम २० प्रतिशतसम्म मात्र कालो सिसा प्रयोग गर्न पाउने व्यवस्था छ ।
उहाँले अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताउँदै यसबाट सवारी आवागमनलाई थप सुरक्षित र पारदर्शी बनाउन तथा अपराध नियन्त्रणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।