पर्साको जगरनाथपुर गाउँपालिका–४ सुहपुरस्थित हुलाकी सडकखण्डबाट प्रहरीले २० किलो ६८७ ग्राम गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरी टोलीले मंगलबार चितवनबाट भारतको सुगौलीतर्फ जाँदै गरेको बीआर ०६ बीएच ५४९६ नम्बरको भारतीय कारलाई रोकेर खानतलासी गरेको थियो । खानतलासीका क्रममा कारको पछाडिको सिटमुनि प्लास्टिकमा लुकाएर राखिएको अवस्थामा गाँजाजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा भारतको बिहारस्थित सीतामढी जिल्ला ग्राम पञ्चायत तालका डुम्रा–३३ का ३३ वर्षीय रहमद अन्सारी रहेका छन् ।
प्रहरीले बरामद गाँजा र कारसहित अन्सारीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।