ग्रिन सिटी सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवाको संयुक्त आयोजनामा ‘एक घर, एक बिरुवा’ अभियानअन्तर्गत वीरगञ्जस्थित हरि खेतान बहुमुखी कलेजमा ४ सयभन्दा बढी विभिन्न प्रजातिका बिरुवा वितरण तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत आयोजित कार्यक्रममा कलेजमा अध्ययनरत विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो । वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा जलवायु परिवर्तनका चुनौती न्यूनीकरण गर्ने उद्देश्यले विद्यार्थीलाई बिरुवा वितरण गर्नुका साथै कलेज परिसरमा वृक्षारोपण गरिएको हो ।
कार्यक्रममा विद्यार्थीहरूलाई प्रत्येक घरमा कम्तीमा एउटा बिरुवा रोप्न र त्यसको संरक्षण गर्न आग्रह गरिएको थियो । ग्रिन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देविसहाय मीणा प्रमुख अतिथि रहनुभएको थियो ।
कार्यक्रममा उद्योग वाणिज्य संघ वीरगञ्जका अध्यक्ष हरि गौतम, हरि खेतान बहुमुखी कलेजका अध्यक्ष रामवतार खेतान, समाजसेवी सुरेश रुङटा, जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी चक्र मल्ल, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक विक्रम सुवेदी, युवा समाजसेवी दिलीप कार्कीलगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै ग्रिन सिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष खेतानले वातावरण संरक्षण वर्तमान समयको महत्वपूर्ण आवश्यकता भएको बताउनुभयो । उहाँले ‘एक घर, एक बिरुवा’ अभियानलाई जनस्तरसम्म पुर्याउँदै प्रत्येक नागरिकलाई वृक्षारोपण र संरक्षणमा सहभागी गराउने उद्देश्य रहेको बताउनुभयो । बिरुवा रोप्नु मात्र नभई त्यसको संरक्षण गर्नु पनि उत्तिकै आवश्यक रहेको उहाँको भनाइ थियो ।
प्रमुख अतिथि मीणाले यस्ता वातावरणमैत्री अभियानले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताउँदै युवा पुस्तालाई प्रकृति संरक्षणमा सक्रिय हुन आग्रह गर्नुभयो । कार्यक्रममा सहभागी वक्ताहरूले स्वच्छ तथा हरित शहर निर्माण, वातावरण संरक्षण र सामुदायिक प्रहरी–नागरिक सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रमको अन्त्यमा विद्यार्थीहरूलाई ४ सयभन्दा बढी बिरुवा वितरण गर्नुका साथै कलेज परिसरमा सामूहिक वृक्षारोपण गरिएको आयोजकले जनाएको छ ।