वीरगंज महानगरपालिका–३१ सोलकपुरस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि खानेपानी सुविधा उपलब्ध गराउने उद्देश्यले ह्यान्ड पम्प जडान गरिएको छ ।
उपकार सेवा नेपालको सम्पूर्ण आर्थिक सहयोगमा विद्यालय परिसरमा एक सेट ह्यान्ड पम्प जडान गरी एक कार्यक्रमबीच हस्तान्तरण गरिएको हो ।
हस्तान्तरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक पुष्पा सर्राफ, उपकार सेवा नेपालका अध्यक्ष विद्या कुमारी सरावगी, संस्थाकी संरक्षक पद्मा देवी सरावगी, सामाजिक अभियन्ता प्रकाश थारूलगायत विद्यालयका शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहभागी वक्ताहरूले विद्यार्थीहरूका लागि स्वच्छ खानेपानीको व्यवस्था अत्यन्त आवश्यक रहेको बताउँदै सहयोगी संस्था उपकार सेवा नेपालप्रति धन्यवाद व्यक्त गरेका थिए ।
ह्यान्ड पम्प जडान भएपछि विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई खानेपानीको सहज सुविधा पुग्ने विश्वास व्यक्त गरिएको छ ।