पर्साको वीरगंजबाट करिब २२ ग्राम खैरो हिरोइन (ब्राउन सुगर) जस्तो देखिने प्रतिबन्धित लागू औषधसहित एकजना वृद्ध पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा वीरगंज महानगरपालिका वडा नं. १२ मुरलीचोक बस्ने ७२ वर्षीय नारायण बहादुर के.सी. रहेका छन् । विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले सोमबार (साउन ५ गते) अपरान्ह साढे ४ बजेको समयमा वीरगंज महानगरपालिका-११ श्रीपुरस्थित बहिरङ्ग विद्यालय अगाडिको सडकखण्डमा पैदल हिँडिरहेका के.सी.लाई शंकास्पद अवस्थामा नियन्त्रणमा लिएको थियो ।
प्रहरीले कानून बमोजिम खानतलासी गर्दा उनको प्यान्टको दाहिने खल्तीबाट सेतो पारदर्शी प्लास्टिकको पोका फेला पारेको थियो । उक्त पोका खोलेर हेर्दा साना कागजका १५ वटा पुरियामा कागज बाहेक २१ ग्राम ९१ मिलिग्राम (कागजसहित ४०.७४ ग्राम) खैरो हिरोइन जस्तो देखिने अवैध पदार्थ बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
साथै, उनको बायाँ खल्तीबाट अवैध लागू औषधका पुराना कारोबारीहरू जहिर मियाँ र इम्तियाज मियाँको नाम तथा रु. ५ हजार रकम उल्लेख भएको एउटा सेतो कागजको टुक्रा समेत बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका के.सी.लाई बरामद लागू औषधसहित नियन्त्रणमा लिई लागू औषध नियन्त्रण ऐन बमोजिम थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक चक्र बहादुर मल्लले जानकारी दिनुभयो ।