नेपाल पत्रकार महासंघ पर्साले वीरगंजबाट प्रसारण हुने माई टिभीलाई जिल्ला प्रहरी कार्यालय पर्साले पत्र काटेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत वीरगंज महानगरपालिका–३१ मा एक महिलाको नागरिकताबाट पतिको नाम हटाइएको विषयमा प्रसारित समाचारका सम्बन्धमा वडा अध्यक्षको उजुरीका आधारमा प्रहरीले माई टिभीसँग तथ्य पेश गर्न पत्राचार गरेको घटनालाई प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपको रूपमा व्याख्या गरेको छ ।
महासंघका अनुसार कुनै समाचारप्रति असहमति वा गुनासो भए सम्बन्धित सञ्चारमाध्यममा खण्डन, स्पष्टीकरण वा प्रतिक्रिया पठाउने तथा आवश्यक परे प्रेस काउन्सिल नेपालमार्फत कानुनी उपचार खोज्ने व्यवस्था रहेको छ । यस्तो अवस्थामा प्रहरी प्रशासनमार्फत सञ्चारमाध्यमलाई पत्र काट्नु विधिसम्मत अभ्यास नभएको महासंघका सचिव विजयकुमार महतोद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा सञ्चारमाध्यममाथि अनावश्यक दबाब सिर्जना गर्ने, स्वतन्त्र पत्रकारितालाई निरुत्साहित गर्ने तथा संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा प्रत्यक्ष वा अप्रत्यक्ष हस्तक्षेप गर्ने गतिविधि स्वीकार्य नहुने उल्लेख गरिएको छ ।
समाचारप्रति असहमति राख्ने पक्षले प्रचलित कानुनी प्रक्रिया अपनाउनुपर्नेमा जोड दिँदै महासंघले प्रहरी संयन्त्रमार्फत सञ्चारमाध्यम वा पत्रकारमाथि मानसिक दबाब सिर्जना गर्ने प्रयास लोकतान्त्रिक मूल्य–मान्यता र प्रेस स्वतन्त्रताको मर्मविपरीत भएको जनाएको छ ।
नेपाल पत्रकार महासंघ पर्साले सम्बन्धित सबै पक्षलाई संविधान, प्रचलित कानुन तथा स्थापित लोकतान्त्रिक अभ्यासको सम्मान गर्न आग्रह गर्दै प्रेस स्वतन्त्रतामा असर पार्ने गतिविधि तत्काल रोक्न माग गरेको छ ।
महासंघले यस्ता प्रवृत्ति दोहोरिए स्वतन्त्र प्रेसको रक्षा, पत्रकारको पेशागत अधिकारको संरक्षण तथा संविधानप्रदत्त प्रेस स्वतन्त्रताको सुनिश्चितताका लागि संघर्षमा उत्रिन बाध्य हुने चेतावनीसमेत दिएको छ ।