नेपाली कांग्रेसका संस्थापक नेता तथा महामानव विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवसको अवसरमा आयोजित वृक्षारोपण तथा ‘जरा अभियान’ समापन कार्यक्रम पर्साको पटेर्वा सुगौली गाउँपालिका–३ स्थित पूर्व देकुली सामुदायिक भवनमा सम्पन्न भएको छ ।
नेपाली कांग्रेस पर्साका जिल्ला सभापति जनार्दन सिंह क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य उज्वल बराल प्रमुख अतिथि तथा नेपाली कांग्रेस महिला संघकी केन्द्रीय सदस्य सानू परियार विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो ।
कार्यक्रममा जिल्ला उपसभापति रामनारायण कुर्मी, क्षेत्रीय सभापतिहरू साहबुदिन अन्सारी र श्रीकृष्णप्रसाद चौहान, पटेर्वा सुगौली गाउँपालिकाका अध्यक्ष एवं नेपाली कांग्रेस पर्साका जिल्ला सचिव दिनेशकुमार चौधरी, गाउँपालिका उपाध्यक्ष ममता महतो चौधरी, पोखरिया नगरपालिकाका पूर्वमेयर दिपनारायण (मन्टु) रौनियार, स्वकीय सचिव राकेश कुशवाहालगायत विभिन्न वडाध्यक्ष, कांग्रेसका विभिन्न तहका नेता–कार्यकर्ता, तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि उज्वल बरालले महामानव बीपी कोइराला नेपाली कांग्रेसका नेता मात्र नभई लोकतान्त्रिक आन्दोलनका महान् विचारक भएको बताउनुभयो । उहाँले बीपीले अघि सारेको राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र मेलमिलापको नीति आज पनि नेपालको राजनीतिक मार्गदर्शक सिद्धान्तका रूपमा रहेको उल्लेख गर्नुभयो । उहाँले बीपीलाई भाषण र औपचारिक कार्यक्रममा मात्र सम्झिनुभन्दा उहाँले देखाएको लोकतान्त्रिक मूल्य, इमानदार राजनीति, जनताको सेवा र सामाजिक उत्तरदायित्वलाई व्यवहारमा उतार्न आवश्यक रहेको बताउनुभयो । वृक्षारोपणजस्ता अभियानले वातावरण संरक्षणसँगै समाजप्रतिको दायित्वसमेत स्मरण गराउने उहाँको भनाइ थियो ।
बरालले ‘जरा अभियान’ले नेपाली कांग्रेसको संगठनलाई गाउँ–गाउँसम्म बलियो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै पार्टीका नेता–कार्यकर्तालाई जनताको घरदैलोमा पुगेर जनविश्वास थप मजबुत बनाउन आग्रह गर्नुभयो । उहाँले वातावरण संरक्षण वर्तमान समयको आवश्यकता भएकाले प्रत्येक नागरिकले कम्तीमा एक बिरुवा रोपेर त्यसको संरक्षण गर्ने संस्कार विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमका अध्यक्ष जनार्दन सिंह क्षेत्रीले बीपी कोइरालाले देखाएको सिद्धान्त र आदर्शलाई आत्मसात् गर्दै कांग्रेस संगठनलाई जनमुखी, जिम्मेवार र सुदृढ बनाउन सबै नेता–कार्यकर्ता एकताबद्ध भएर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले वृक्षारोपण अभियानलाई औपचारिकतामा सीमित नराखी रोपिएका बिरुवाको संरक्षणमा समेत विशेष ध्यान दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा सहभागी अन्य वक्ताहरूले पनि बीपी कोइरालाको योगदानको चर्चा गर्दै उहाँका आदर्श र विचारलाई नयाँ पुस्तासम्म पुर्याउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए ।
कार्यक्रमको अन्त्यमा महामानव बीपी कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गर्दै वृक्षारोपण तथा ‘जरा अभियान’ औपचारिक रूपमा समापन गरिएको थियो ।