जिल्ला भूमि समस्या समाधान समिति, चितवनले इच्छाकामना गाउँपालिकाका ३४ भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी दर्ता प्रमाण–पुर्जा (लालपुर्जा) वितरण गरेको छ ।
लामो समयदेखि आफ्नै नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले लालपुर्जा पाएसँगै उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन् ।
भूमि समस्या समाधान समितिका अनुसार भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्दै उनीहरूलाई जग्गाको स्वामित्व प्रदान गर्ने अभियानअन्तर्गत लालपुर्जा वितरण गरिएको हो ।
सरकारले भूमिहीन समुदायको समस्या समाधानलाई उच्च प्राथमिकतामा राख्दै देशभर जग्गाधनी प्रमाण–पुर्जा वितरणको कामलाई तीव्र बनाएको जनाएको छ । यसैबीच, झापाको कनकाई नगरपालिकामा पनि भूमिहीन दलित तथा अव्यवस्थित बसोबासी पाँच परिवारलाई जग्गाधनी दर्ता प्रमाण–पुर्जा वितरण गरिएको छ ।
सरकारले देशका विभिन्न स्थानमा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई कानुनी रूपमा जग्गाधनी बनाउने अभियानलाई निरन्तर अघि बढाइरहेको छ ।