रौतहटको गुजरा नगरपालिकामा खुकुरी प्रहार गरी एक महिलाको हत्या भएको छ ।
गुजरा नगरपालिका–५ हरिहरपुर टोलमा शुक्रबार बिहान करिब १०ः३० बजे धारिलो हतियार प्रहारबाट स्थानीय एक महिलाको घटनास्थलमै मृत्यु भएको हो ।
प्रहरीका अनुसार गुजरा नगरपालिका–५ हरिहरपुरका चन्देश्वर साह कलवारकी श्रीमती अन्दाजी ४०–४५ वर्षीया रेनु देवी जयसवालमाथि खुकुरी प्रहार भएको थियो । उनलाई सोही टोलमा बस्दै आएका बारा जिल्ला करैयामाई गाउँपालिका–८ ईटहर बेलाही टोल घर भएका अन्दाजी ३५ वर्षीय उपेन्द्र साह कलवारले खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।
खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी रेनु देवीको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन् । घटनापछि आक्रोशित स्थानीय बासिन्दाले आरोपित उपेन्द्रलाई नियन्त्रणमा लिएर कुटपिट गरेका थिए ।
स्थानीयको कुटपिटबाट गम्भीर घाइते भएका उपेन्द्रको अहिले चन्द्रनिगाहपुरस्थित चन्द्रपुर अस्पतालमा कडा सुरक्षाका बीच उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
प्रहरीका अनुसार घटनाबारे जानकारी पाएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले मुचुल्का उठाउने, प्रमाण संकलन गर्ने तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउने काम भइरहेको जनाएको छ ।
घटना किन र के कारणले भएको हो भन्ने विषय खुल्न सकेको छैन । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।