सिर्सिया नदी प्रदूषण नियन्त्रण तथा सफाइ अभियानलाई निष्कर्षमा पुर्याउने उद्देश्यसहित प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिको पहलमा वीरगंजमा सरोकारवालाबीच परिणाममुखी अन्तरक्रिया सम्पन्न भएको छ ।
वीरगंज उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा सम्पन्न अन्तरक्रियामा बारा र पर्साका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका प्रमुख, सिर्सिया नदीसँग सम्बन्धित उद्योगका प्रतिनिधि तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो ।
कार्यक्रममा सिर्सिया नदी प्रदूषणको समस्या दीर्घकालीन रूपमा समाधान गर्न उठाइएका विषयलाई निष्कर्षमा पुर्याउन सबै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्नेमा जोड दिइएको थियो । छलफलका क्रममा कानुनी कारबाही तथा दण्ड–जरिवानाको व्यवस्था आवश्यक भए पनि त्यससँगै सौहार्दपूर्ण संवाद, समन्वय र सचेतनामूलक गतिविधिलाई समान रूपमा अघि बढाउनुपर्ने धारणा व्यक्त गरिएको थियो ।
सहभागीहरूले सिर्सिया नदीको संरक्षण, प्रदूषण नियन्त्रण र सफाइ अभियानलाई प्रभावकारी बनाउन सरकारी निकाय, सुरक्षा निकाय, उद्योगी तथा स्थानीय सरोकारवालाबीच समन्वयलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याएका थिए ।
अन्तरक्रियाबाट सिर्सिया नदी सफाइ अभियानलाई ठोस निष्कर्षमा पुर्याउने तथा कार्यान्वयनमुखी निर्णयहरू अघि बढाउने विश्वास व्यक्त गरिएको छ । सहभागीहरूले निकट भविष्यमा यस अभियानको सकारात्मक परिणाम देखिन सुरु हुने अपेक्षा समेत गरेका छन् ।


