मधेस प्रदेशमा हालसम्म ७८ दशमलव ५९ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ ।
प्रदेशका आठवटै जिल्लामा गरी तीन लाख हेक्टरभन्दा बढी क्षेत्रफलमा धान रोपाइँ भएको हो । मधेस प्रदेश कृषि विकास निर्देशनालयका अनुसार साउन ७ गतेसम्म प्रदेशमा तीन लाख ५८० हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ। यस वर्ष पर्याप्त वर्षा भएकाले किसान उत्साहका साथ रोपाइँमा जुटेका छन् ।
निर्देशनालयका अनुसार सबैभन्दा बढी सिरहामा ९४ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ भने सबैभन्दा कम महोत्तरीमा ५५ प्रतिशत रोपाइँ भएको छ ।
निर्देशनालयका बागवानी विकास अधिकृत किरण विश्वकर्माका अनुसार यस वर्ष किसानले उन्नत जातका धानका बीउ प्रयोग गर्नुका साथै रासायनिक तथा प्राङ्गारिक मलको व्यवस्थापनमा समेत ध्यान दिएका छन् । यद्यपि, प्रदेशका केही स्थानमा सिँचाइ पूर्वाधार तथा मलको अभाव रहेको किसानहरूले गुनासो गरेका छन् ।
समयमै मल उपलब्ध गराउन तथा सिँचाइको उचित व्यवस्था गर्न किसानहरूले सम्बन्धित निकायसँग माग गरेका छन् ।