बारामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि गरिएको कारबाहीबाट आर्थिक वर्ष २०८२/८३ मा १ करोड ३५ लाख ६७ हजार ५ सय १२ रुपैयाँ राजस्व संकलन भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका अनुसार उक्त आर्थिक वर्षमा १५ हजार ६ सय ९३ वटा सवारीसाधन कारबाहीमा परेका छन् । ट्राफिक प्रहरीको वार्षिक तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनको संख्या र संकलित राजस्व दुवैमा कमी आएको छ ।
आर्थिक वर्ष २०८१/८२ मा २३ हजार ४ सय २४ वटा सवारीसाधनलाई कारबाही गर्दा २ करोड २ लाख ४२ हजार रुपैयाँ राजस्व संकलन भएको थियो। यस आधारमा अघिल्लो वर्षको तुलनामा यस वर्ष कारबाहीमा पर्ने सवारीसाधनको संख्या उल्लेख्य रूपमा घटेको देखिन्छ । यद्यपि, जिल्लामा सवारी दुर्घटनाको अवस्था भने अझै चुनौतीपूर्ण रहेको प्रहरीले जनाएको छ । गत आर्थिक वर्षभर बाराका विभिन्न सडकमा १ हजार २ सय ११ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा ७९ जनाले ज्यान गुमाएका छन् ।
अघिल्लो आर्थिक वर्षमा १ हजार १ सय ४७ वटा सवारी दुर्घटना हुँदा ९३ जनाको मृत्यु भएको थियो । तथ्यांकअनुसार यस वर्ष दुर्घटनाको संख्या केही बढे पनि दुर्घटनामा परी मृत्यु हुनेको संख्या भने घटेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी निरीक्षक हरि भट्टराईले सडकको कमजोर अवस्था, तीव्र गति, चालकको लापरबाही तथा ट्राफिक नियमको बेवास्ता दुर्घटनाका प्रमुख कारण रहेको बताउनुभयो । उहाँका अनुसार नियमित सवारी जाँच, ट्राफिक नियम उल्लङ्घन गर्ने चालकमाथि कडाइ तथा सडक सुरक्षासम्बन्धी जनचेतनामूलक अभियानलाई निरन्तरता दिइएकाले मानवीय क्षति न्यूनीकरणमा सकारात्मक प्रभाव परेको छ ।
प्रहरी निरीक्षक भट्टराईले दुर्घटना न्यूनीकरणलाई उच्च प्राथमिकतामा राख्दै आफू पनि छड्के अनुगमन तथा ट्राफिक जाँचमा सक्रिय रूपमा सहभागी हुने गरेको जानकारी दिनुभयो ।
उहाँले चालकहरूलाई सुरक्षित गति अपनाउन, ट्राफिक नियमको पूर्ण पालना गर्न तथा जिम्मेवारीपूर्वक सवारी सञ्चालन गर्न आग्रह गर्दै सडक सुरक्षा अभिवृद्धिका लागि ट्राफिक अनुशासन र जनचेतनामूलक कार्यक्रमलाई अझ प्रभावकारी बनाइने बताउनुभयो ।