अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका डिभिजन प्रमुख र एक अधिकृतलाई साढे ७ लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी रहेका छन् । उनीहरूलाई अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले साउन ८ गते नियन्त्रणमा लिएको हो । अख्तियारका अनुसार बोरिङ तथा मोटर जडानको काम सम्पन्न भएपछि त्यसबापतको भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस मागिएको थियो । काम सम्पन्न गरेपछि रकम भुक्तानीका लागि दुःख–हैरानी दिई घुस मागिरहेको भन्ने सूचना र उजुरीका आधारमा अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।
अख्तियारको टोलीले डिभिजन प्रमुख ढकाल र मेकानिकल अधिकृत चौधरीलाई सेवाग्राहीबाट ७ लाख ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा बागमती नगरपालिका–१२ स्थित डिभिजन प्रमुखको क्वार्टरबाट पक्राउ गरेको हो । खानतलासीका क्रममा उनीहरूको साथबाट घुसबापतको ७ लाख ५० हजार रुपैयाँसहित स्रोत नखुलेको थप ७१ हजार १ सय १५ रुपैयाँ र तीन थान मोबाइल फोनसमेत बरामद भएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभएको छ ।
पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।