राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सागढी नगर समिति, पर्साको आयोजनामा शनिबार पर्सागढी नगरपालिका–३ बढनियारमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन पर्सा निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य सुशील साह कानुले रक्तदान गरेर गरेका थिए । रक्तसञ्चार केन्द्र वीरगञ्जका अनुसार कार्यक्रममा ३ महिलासहित ६० जनाले रक्तदान गरेका छन् ।
रक्तदान गर्नेहरूमा सांसद सुशील साह कानुसहित रास्वपा नेता सुधिर पटेल, मुस्कान दाहाल, होमप्रसाद न्यौपाने, सन्तोष खवास, पोषण पटेल कुर्मी, हर्कबहादुर अर्याल, आशिक अधिकारी, रैतु आलम अन्सारी, कमलेश रायभर, मनोज रायभर र करण आचार्यलगायत रहेका थिए ।
कार्यक्रममा रास्वपा नेता सुधिर पटेल, रास्वपा मधेश प्रदेश यातायात विभाग प्रमुख राम आर्य, क्षेत्र नं. २ का सचिव किशनप्रसाद, रास्वपा वीरगञ्ज नगर सभापति दीपराज पटेल, नेपाल रेडक्रस सोसाइटी रेशमको उपशाखाका सह–कोषाध्यक्ष अभिलाष गुप्ता, स्थानीय बुद्धिजीवी तथा रास्वपा पर्सागढी नगर समितिका पदाधिकारी र कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरभ पाण्डेको नेतृत्वमा रहेको प्राविधिक टोलीको सहयोगमा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ ।