करिब चार महिनापछि वीरगंज नाका हुँदै रासायनिक मल आयात पुनः सुरु भएको छ । बिहीबार साँझदेखि वीरगंज भन्सार कार्यालयअन्तर्गत सिर्सिया नाकाबाट रेलमार्फत डिएपी (डाइ–अमोनियम फस्फेट) रासायनिक मल नेपाल भित्रिन थालेको हो ।
फागुनयता वीरगंज नाका भएर रासायनिक मल आयात नभएको अवस्थामा बिहीबारदेखि पुनः आपूर्ति सुरु भएको हो । कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय वीरगंजका प्रमुख दुर्गाप्रसाद पाण्डेका अनुसार भारतको आइपिएल कम्पनीले ३० हजार मेट्रिक टन मल आपूर्तिको ठेक्का पाएपछि तेस्रो मुलुकबाट आयात गरिएको डिएपी मल वीरगंज नाका हुँदै भित्रिन थालेको हो ।
पहिलो दिन कृषि सामग्री कम्पनीका लागि २५ हजार बोरा (एक हजार २५० मेट्रिक टन) र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका लागि ५० हजार बोरा (दुई हजार ५०० मेट्रिक टन) गरी कुल तीन हजार ७५० मेट्रिक टन डिएपी मल वीरगंज आइपुगेको छ ।
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड, वीरगंज शाखाका प्रमुख अमोज लामिछानेका अनुसार आइपिएल कम्पनीले आपूर्ति गर्ने बाँकी मल आगामी दुईदेखि तीन दिनभित्र नेपाल आइपुग्नेछ ।
यस्तै, भारतको आइपिएल कम्पनीले तेस्रो मुलुकबाट आयात गरेको ३० हजार मेट्रिक टन युरिया तथा आदित्य बिर्ला कम्पनीले ओमान र कतारबाट ल्याएको ६० हजार मेट्रिक टन युरिया एक साताअघि नै भारतको कोलकाता बन्दरगाह आइपुगेको कृषि सामग्री कम्पनीले जनाएको छ । ती मल बोरामा प्याकिङ गरी साउनको अन्तिम सातादेखि भदौको पहिलो साताभित्र नेपाल ल्याइने तयारी रहेको छ ।
प्रमुख पाण्डेका अनुसार सरकार–सरकार (जीटुजी) सम्झौताअन्तर्गत ३० हजार मेट्रिक टन डिएपी र २० हजार मेट्रिक टन युरिया मल पनि नेपाल आउने क्रममा छ ।
साल्ट ट्रेडिङका प्रमुख लामिछानेले सन इन्टरनेसनलसँगको सम्झौताअनुसार आउने ३० हजार मेट्रिक टन युरिया मल पनि कोलकाता बन्दरगाहमा आइसकेकाले साउनको अन्तिम सातादेखि भदौको पहिलो साताभित्र नेपाल भित्रिने जानकारी दिए ।