जनकपुरधाम । धनुषा प्रहरीले धनुषाधाम नगरपालिका–५, ९०० बिघास्थित एक वडा सदस्यको घरबाट ठूलो परिमाणमा रासायनिक डिएपी मल बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार वडा सदस्य सुरेश साहको घरमा डिएपी मल लुकाइछिपाइ राखिएको तथा रातिको समयमा महँगो मूल्यमा बिक्री भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी चौकी ९०० बिघाबाट खटिएको टोलीले छापा मारेर करिब ४०० बोरा डिएपी मल बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेका अनुसार बरामद गरिएको मलको स्रोत खुल्न नसकेपछि नियन्त्रणमा लिइएको हो ।
उनका अनुसार बरामद गरिएको मल ट्र्याक्टरमार्फत इलाका प्रहरी कार्यालय धनुषाधाम ल्याउने कार्य भइरहेको छ। साथै मलको यकिन परिमाण, स्रोत तथा सम्भावित अवैध कारोबारबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार वडा सदस्य सुरेश साह हाल फरार रहेका छन् भने उनको खोजी कार्य तीव्र पारिएको छ ।