सप्तरी | जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेश प्रदेश समिति सचिव मो. युसुफ अलिले पार्टीको पद तथा साधारण सदस्यसमेत नरहने गरी मंगलबार राजीनामा दिनुभएको छ ।
उहाँले आफ्नो आधिकारिक फेसबुकमार्फत राजीनामा पत्र सार्वजनिक गर्दै पार्टीभित्र व्यक्तिवादी सोच, सीमित नेतृत्वको स्वार्थ र लोकतान्त्रिक अभ्यास कमजोर हुँदै गएको आरोप लगाउनुभएको छ ।
मधेश जनविद्रोहबाट स्थापित संघीयता, समावेशिता, सामाजिक न्याय, पहिचान र सम्मानका मुद्दालाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै उहाँले पार्टीभन्दा मुद्दा, नेतृत्वभन्दा विचार र व्यक्तिभन्दा जनता ठूलो हुने उल्लेख गर्नुभएको छ ।
नयाँ पुस्तालाई नेतृत्वमा अवसर दिनुपर्ने धारणा राख्दै अलिले आफ्नो राजनीतिक विवेकअनुसार अलग बाटो रोजेको जनाउनुभएको छ । उहाँले तत्काल लागू हुने गरी पार्टीको पद र साधारण सदस्यतासमेत त्यागेको उल्लेख गर्नुभएको छ ।