सिरहाको धनगढीमाई नगरपालिका–१४, बिहीबारे टोलबाट प्रहरीले १६ किलो २७० ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा स्थानीय ५६ वर्षीय झनकबहादुर ठकुरी रहेका छन्। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार उनको घरमा गाँजा लुकाएर राखिएको भन्ने गोप्य सूचनाका आधारमा मंगलबार प्रहरीले खानतलासी गरेको थियो ।
प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशबहादुर पालका अनुसार इलाका प्रहरी कार्यालय लहानका डीएसपी विष्णुप्रदीप बस्यालको नेतृत्वमा खटिएको प्रहरी टोली र लागूऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय गोलबजारको संयुक्त टोलीले खानतलासी गरेको थियो ।
खानतलासीका क्रममा ठकुरीको घरभित्रबाट ३ किलो ५२० ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ। त्यस्तै, उनको घरबाट करिब ५० मिटर पूर्व सरे खोलाको कासघारीबाट थप १२ किलो ७५० ग्राम गाँजा फेला परेको थियो ।
दुवै स्थानबाट बरामद गरिएको गाँजाको कुल तौल १६ किलो २७० ग्राम रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका ठकुरीलाई इलाका प्रहरी कार्यालय लहानमा राखिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।