मौसम पूर्वानुमान महाशाखाले भारी वर्षाको आकलन गरेपछि सर्लाहीका किसानले हतार हतारमा धान भित्र्याइरहेका छन् । धान पाकेर पहेँलपुर भए पनि कामदारको भने ‘हाहाकार’ भएको छ ।
पानी पर्ने डरले घारीबथान, परवानीपुर, रानीगन्ज, जब्दी, लालबन्दी, नवलपुर, जानकीनगर, घुर्कौली, कर्मैया, हरिवनलगायत क्षेत्रका किसानले धमाधम धान काटिरहेका छन् । किसानलाई धमाधम पाकेको धान काट्ने, थ्रेसर लगाउने र घरमा ल्याएर भकारीमा थन्क्याउने चटारो परेको हो । लालबन्दी नगरपालिका–१६, परवानीपुरका किसान भरतप्रसाद गौतमले सम्पूर्ण फाँटमा धान काटेर भित्र्याइरहेको बताउनुभयो ।
ढिलो गरी धान पाक्ने जिल्लाको दक्षिणी भेगबाट उत्तरी भेगमा केही कामदार धान काट्ने कामका लागि आएका छन् तर पर्याप्त छैनन् । पानी पर्ने सूचना पाएपछि किसानलाई धान थन्क्याउने चटारो परेको हो ।
यो वर्ष दसैँपछाडि धकेलिएकाले किसानलाई चाडबाडकै बेलादेखि नै धान थन्क्याउने चटारो परेको हो । गौतमले भन्नुभयो, “किसानलाई यो साल दसैँभन्दा त पाकेको धान कसरी भित्र्याउने चिन्ता बढी रह्यो । त्यसैमाथि कामदार नपाएर झनै हैरान छन् ।”
कामदार अभावले गर्दा धान काट्न ढिलो भएको किसानको गुनासो छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले यही कात्तिक ११ गतेदेखि वर्षाको पूर्वानुमान गरेकाले पनि कामदार अभावैबिच तत्कालै पाकेको धानबाली भिœयाउनुपर्ने बाध्यता रहेको किसानले बताएका छन् ।
ईश्वरपुर नगरपालिका–१२, घारीबथानका किसान रामजी थापाले आफूहरूको क्षेत्रमा किराले खाएर धानको बाला खेतभरि पारेको जानकारी दिनुभयो । कामदार नपाएर किसानलाई धान काट्नेदेखि धान तथा पराल घरसम्म ल्याउन असाध्यै सकस परिरहेको थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँघरमा काम गर्ने मान्छे नै कम छन् । दक्षिणी बेल्टबाट आएका थोरै कामदार तानातान भइरहेको छ ।”
पछिल्लो समय धान काट्न फाट्टफुट्ट हाते मेसिन आएका छन् । मेसिनबाट धान काट्न पनि दुईरतीन दिन कुर्नुपर्ने बाध्यता रहेको किसानको भनाइ छ । धान झार्न भने प्रत्येक जसो किसानको खेतमा थ्रेसर पुग्ने गरेको छ । कामदारले गर्नुपर्ने कामका लागि भने मान्छे पाउनै मुस्किल रहेको किसानले बताएका छन् ।
उत्तरी भेगका किसानलाई अहिले धान भित्र्याउनेसहित पराल थन्क्याउने, मास उखेल्ने, बोडी टिप्ने, तोरी छर्नेसहितका कामको एकैसाथ चटारो परेको छ । जिल्लाको दक्षिणी बेल्टमा भने ढिलो गरी पाक्ने धान लगाइएकोले तिहार र छठका बेला धान काट्ने समय हुने कृषि ज्ञान केन्द्र सर्लाहीले जनाएको छ । किसानको पहुँचमा आधुनिक उपकरण नपुग्दा, मानिसले नै गर्नुपर्ने कामका लागि कामदार नपाउने र अर्मपर्मको परम्परा हराउँदै गएसँगै खेती गर्न मुस्किल परेको गुनासो बढ्दै गइरहेको छ । कृषि ज्ञान केन्द्र सर्लाहीका अनुसार यो वर्ष जिल्लाभर ४१ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिएको छ ।
कार्यालयका प्रमुख एवं वरिष्ठ कृषि प्रसार अधिकृत कमलदेवप्रसाद कुशवाहाले वैदेशिक रोजगारीको बढ्दो आकर्षणका कारण कृषि क्षेत्रमा कामदारको अभाव बढ्दै जानु चिन्ताजनक विषय बनेको बताउनुभएको छ । उहाँले भन्नुभयो, “एकातर्फ सम्पूर्ण किसानको पहुँचमा आधुनिक कृषि उपकरण पुग्न सकेको छैन भने अर्कोतर्फ कामदार अभाव झनै चिन्ताजनक विषय बन्दै गएको छ ।”