नारायणी अस्पतालमा भएको घटनाबारे सत्यतथ्य पता लगाउन छानबिन समिति गठन गरिएको छ ।
अस्पतालमा बसेको बैठकले घटनाको छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेस गर्ने गरी समिति गठन गरेको हो । बैठकले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र परिवारजनप्रति समवेदना प्रकट गरेको छ । साथै, घटनाको सम्पूर्ण सत्यतथ्य अध्ययन तथा विश्लेषण गरी प्रतिवेदन पेस गर्न छानबिन समिति बनाउने निर्णय गरेको छ ।
छानबिन समितिमा नारायणी अस्पतालका डा. नीरजकुमार सिंह, जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी विनय कुमार गुप्ता, जिल्ला प्रहरी कार्यालय प्रहरी निरिक्षक विक्रम सुवेदी, वीरगंज महानगरपालिका वडा नम्बर २५ का वडा अध्यक्ष आशुतोष चतुर्वेदी, मृतक आफन्तका प्रतिनिधि विकास पटेल तथा अस्पताल प्रशासनका प्रतिनिधि सुनिल कुमार राैनियार सहितकाे छानविन समिति गठन गरिएको छ । समितिले ७ दिनभित्र छानविन प्रतिवेदन पेश गरी साेहि अनुसार कार्वाहि प्रकृया अगाडि बढाउने निर्णय भएकाे छ ।
बैठकले आकस्मिक कक्षमा उपचारमा संलग्न रहेका डा. प्रमाेद राम, डा. रामकिशाेर सिंह, प्रहलाद प्रसाद, नरेश कुमार चाैधरी, आस्था यादव गरी ५ जना स्वास्थ्यकर्मीलाई छानबिन समितिको प्रतिवेदन नआएसम्म जिम्मेवारीबाट अलग राख्ने निर्णयसमेत गरेको छ । समितिको प्रतिवेदनका आधारमा थप प्रक्रिया अघि बढाइने जनाइएको छ ।
त्यस्तै, मृतकको शव धार्मिक परम्पराअनुसार अन्त्येष्टि गर्न परिवारलाई सहजीकरण गर्ने निर्णय गरिएको छ ।
नारायणी अस्पतालबाट प्रदान हुने स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन निरन्तर सेवा प्रवाह गर्ने प्रतिबद्धता पनि बैठकले जनाएको छ । अस्पताल प्रशासनले घटनाको निष्पक्ष छानबिन गरी आवश्यक सुधारका कदम चालिने जनाएको छ ।