पर्साको छिपरमाई गाउँपालिका–१ मिर्जापुरबाट प्रहरीले १४० किलो गाँजा बरामद गरेको छ ।
मिर्जापुरस्थित आँप बगैँचामा लुकाएर राखिएको अवस्थामा शनिबार राति सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले ठूलो परिमाणको गाँजा बरामद गरेको हो । विशेष सूचनाका आधारमा खटिएको इलाका प्रहरी कार्यालय पोखरिया र सशस्त्र प्रहरी बल मिर्जापुरस्थित बीओपीको संयुक्त टोलीले बगैँचामा खानतलासी गर्दा घाँसभित्र लुकाएर राखिएको १३ पोका गाँजा फेला पारेको प्रहरीले जनाएको छ ।
बरामद गरिएको गाँजा आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ । घटनास्थलबाट कुनै पनि व्यक्ति पक्राउ नपरेको प्रहरीले जनाएको छ ।
गाँजा कसले लुकाएर राखेको हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।