पर्साको वीरगंज महानगरपालिका–१६ स्थित रजतजयन्ती चोकबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार जय नेपाल होटलको कोठा नम्बर ११८ मा लागूऔषध बिक्री–वितरण भइरहेको विशेष सूचनाका आधारमा प्रहरी चौकी इनर्वा र लागूऔषध नियन्त्रण ब्युरो पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले होटलमा खानतलासी गरेको थियो ।
खानतलासीका क्रममा प्रहरीले NITCOR-10 लेखिएको २० पत्तामा २०० वटा ट्याब्लेट तथा ONEREX लेखिएको १०० मिलिलिटरका दुई बोतल लागूऔषध बरामद गरेको जनाएको छ ।
पक्राउ पर्नेमा चितवनको रत्ननगर नगरपालिका–६ बस्ने ५२ वर्षीय उत्तमकुमार पाठक र पर्साको वीरगन्ज महानगरपालिका–२ बस्ने ३५ वर्षीय ओसिम ठाकुराई रहेका छन् ।
प्रहरीले बरामद लागूऔषधसहित दुवै जनालाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।