मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले मधेसमा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीसहितको तीन दलीय गठबन्धन कायम रहने दाबी गरेका छन् ।
सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीसँगको सम्बन्धमा कुनै खटपट नरहेको बताउँदै मुख्यमन्त्री यादवले आफ्नो नेतृत्वको प्रदेश सरकारलाई कुनै समस्या नरहेको स्पष्ट पारे । उनले राजनीतिमा रातारात ठूलो परिवर्तन आउन सक्ने भए पनि अहिलेसम्म केन्द्र र प्रदेश तहमा भएको सहमतिअनुसार मधेसमा तीन दलको सरकार नै निरन्तरता पाउने बताए ।
मुख्यमन्त्री यादवले केन्द्रमा पुगेर बैठक तथा छलफल गरेको र पार्टी सभापतिसँग पनि छलफल भएको जानकारी दिए । प्रदेशमै गठबन्धनलाई मिलाएर अघि बढ्न निर्देशन आएको भन्दै उनले सत्ता गठबन्धनमा रहेका दलहरूबीच सहमति भइसकेकाले वर्तमान सरकारले निरन्तरता पाउनेमा आफू विश्वस्त रहेको बताए । आफ्नो पार्टीको केन्द्रीय नेतृत्वले प्रतिपक्षविहीन प्रदेश सरकारको परिकल्पना गर्न नसकिने भन्दै तीन दलीय गठबन्धनप्रति असहमति जनाए पनि मधेसको हकमा त्यस्तो अवस्था नरहेको मुख्यमन्त्री यादवले स्पष्ट पारे ।
अन्य प्रदेशमा कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीमध्ये कुनै एउटा दल बलियो प्रतिपक्षका रूपमा रहेको उल्लेख गर्दै उनले मधेसमा भने यी तीनै दल सरकारमा रहँदा जनता समाजवादी पार्टी (जसपा) नेपाल बलियो प्रतिपक्षका रूपमा रहेको बताए । त्यसैले मधेसमा तीन दलीय गठबन्धन बनाउनु केन्द्रको नीतिविपरीत नहुने उनको भनाइ छ ।
‘मधेसमा प्रतिपक्ष बलियो छ । प्रतिपक्षलगायत सबैको सहमतिमा हामीले बजेट पारित गरेका छौँ,’ मुख्यमन्त्री यादवले भने ।
उनले गठबन्धनमा रहेका दलहरूबीच यसअघि नै सहमति भइसकेको दाबी गर्दै वर्तमान सरकारले नै निरन्तरता पाउने बताए । रातारात कुनै अप्रत्याशित राजनीतिक परिवर्तन नभए मधेसमा अन्य प्रदेशमा जस्तो सरकार ढल्ने वा परिवर्तन हुने सम्भावना नरहेको उनले स्पष्ट पारे ।