आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले घोषणा गरेको ‘क्यान्डिडेट क्लब’ को आलोचना गर्दै यसलाई अनैतिक राजनीतिको सुरुवात भएको टिप्पणी गरेका छन् ।
शनिबार वीरगञ्जमा बसेको आजपाको मधेस प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले स्थानीय तहलाई निर्दलीय बनाउने भन्दै मत मागेको रास्वपाले अहिले उम्मेदवार छनोटका लागि ‘क्यान्डिडेट क्लब’ गठन गर्नु विरोधाभासपूर्ण भएको बताएका हुन्। रास्वपाले निर्वाचनका बेला एउटा कुरा गर्ने र व्यवहारमा अर्कै अभ्यास गर्न खोजेको उनको आरोप थियो । साहले रास्वपाका नेता तथा कार्यकर्तामा देश र जनताको भन्दा पद र कुर्सीप्रतिको चिन्ता बढी देखिएको दाबीसमेत गरे ।
उनले भने, “घण्टीहरूलाई कुर्सीको मात्रै चिन्ता छ। चुनाव कसरी जित्ने, कसरी पद पाउने भन्ने मात्रै चिन्ता देखियो। देश र जनताका बारेमा यिनीहरूलाई कुनै चिन्ता छैन । यस्तो अवसरवादी सोच भएकाहरूबाट सचेत हुनुपर्छ ।”
अध्यक्ष साहले रास्वपाका कार्यकर्ताहरू सामाजिक सञ्जालमा उग्र रूपमा प्रस्तुत हुने गरेको आरोप पनि लगाए । सामाजिक सम्बन्धको महत्त्व नबुझ्दा उनीहरूले सामाजिक सञ्जालमा गालीगलौज गर्ने गरेको उनको भनाइ थियो ।