काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले राष्ट्रिय स्वाधीनताको रक्षा, लोकतन्त्र र जनअधिकारको संरक्षण, पार्टी रूपान्तरण तथा समाजवाद निर्माणका आधार तयार पार्ने उद्देश्यसहित शुक्रबारदेखि ‘राष्ट्रिय जागरण अभियान’ सुरु गरेको छ ।
आगामी मङ्सिर २५ गतेसम्म सञ्चालन हुने अभियानअन्तर्गत किसान, श्रमजीवी, मजदुर, युवा, विद्यार्थी, महिला, दलित, आदिवासी जनजाति, मधेसी, पिछडिएका क्षेत्रका जनता, बुद्धिजीवी तथा व्यवसायीसँग प्रत्यक्ष संवाद गरिने नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जानकारी दिनुभएको छ ।
अभियान घोषणा गर्दै प्रचण्डले पार्टीका केन्द्रीय नेताहरूको नेतृत्वमा गाउँ, वडा तथा टोलस्तरसम्म पुगेर जनताका समस्या, गुनासा, सुझाव र आलोचना सुन्ने बताउनुभयो ।
उहाँका अनुसार अभियानका क्रममा महँगी, बेरोजगारी, कालोबजारी, भ्रष्टाचार, आर्थिक असुरक्षा, सार्वजनिक सेवामा हुने ढिलासुस्ती, सुकुमवासी तथा श्रमिकका समस्या र वैदेशिक रोजगारीसँग सम्बन्धित कठिनाइबारे तथ्य तथा अनुभव सङ्कलन गरिनेछ ।
जनतासँग प्रत्यक्ष संवाद गरेर उनीहरूका समस्या र अपेक्षा बुझ्ने तथा पार्टीलाई रूपान्तरण गर्ने उद्देश्य अभियानले राखेको नेकपाले जनाएको छ ।
अभियान आगामी मङ्सिर २५ गतेसम्म सञ्चालन हुनेछ ।