रौतहटको गुजरा नगरपालिका–२ चोचाबाट वन तथा सुरक्षा निकायको संयुक्त टोलीले लुकाइछिपाइ राखिएको अवैध साल जातको गोलिया काठ बरामद गरेको छ ।
चोचा सब–डिभिजन वन कार्यालयका प्रमुख अनिलकुमार महतोको नेतृत्वमा सशस्त्र प्रहरी बल (एपीएफ) जङ्गलसैयाँको संयुक्त गस्ती टोलीले आइतबार दिउँसो करिब १२ः४५ बजे नियमित गस्तीका क्रममा उक्त काठ फेला पारेको हो ।
डिभिजन वन कार्यालय रौतहटका प्रमुख मनोजकुमार ठाकुरका अनुसार घटनास्थलबाट सालको तीन थान गोलिया काठ बरामद गरिएको छ । बरामद काठको परिमाण १४.५७ क्युबिक फिट रहेको र यसको अनुमानित बजार मूल्य करिब ६० हजार रुपैयाँ रहेको उनले जानकारी दिए ।
बरामद गरिएको काठलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाउन चोचा सब–डिभिजन वन कार्यालयको परिसरमा सुरक्षित राखिएको छ । काठ तस्करीमा संलग्न व्यक्तिहरूको पहिचान तथा पक्राउका लागि खोजी कार्य तीव्र पारिएको वन कार्यालयले जनाएको छ ।
वन कार्यालयले पछिल्लो समय वन क्षेत्रबाट हुने अवैध काठ कटानी तथा तस्करी नियन्त्रणका लागि गस्ती र निगरानी बढाउँदै आएको जनाएको छ ।