पर्सा राष्ट्रिय निकुञ्जअन्तर्गत पहाडी क्षेत्रमा अवस्थित धार्मिक, ऐतिहासिक तथा पर्यटकीय महत्व बोकेको बाबा दुग्धेश्वरनाथ महादेव मन्दिर (भाठाधाम)मा लाग्ने साउन मेलाको पूर्वसन्ध्यामा सरोकारवालासँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
पर्सा क्षेत्र नं. ३ तथा पटेर्वासुगौली गाउँपालिका–१ मा पर्ने भाठाधाममा आयोजित कार्यक्रममा मेला व्यवस्थापन, पूर्वाधार विकास, सुरक्षा व्यवस्था तथा धार्मिक पर्यटन प्रवर्द्धनका विषयमा छलफल गरिएको थियो ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य रामाकान्त चौरसियाले मेला व्यवस्थापन समिति, स्थानीयवासी तथा श्रद्धालुसँग आवश्यक पूर्वाधार निर्माण, सडक स्तरोन्नति र सरकारी सहयोगका विषयमा छलफल गरेका थिए । उनले भाठाधामलाई वर्षभरि सञ्चालन हुने धार्मिक पर्यटन गन्तव्यका रूपमा विकास गर्न संसद्मा आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे ।
मेला संरक्षण तथा निर्माण समितिका अध्यक्ष अलखदेव चौधरीका अनुसार साउन महिनाभर सञ्चालन हुने मेलामा नेपालका विभिन्न जिल्लासहित भारतबाट समेत लाखौं श्रद्धालु दर्शनका लागि आउने गरेका छन् । समितिका अध्यक्ष गेनालाल पटेलले जनप्रतिनिधि, स्थानीय समुदाय र सरकारबीच प्रभावकारी समन्वय भए बाबा दुग्धेश्वरनाथ महादेव मन्दिरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धार्मिक पर्यटनको प्रमुख केन्द्रका रूपमा विकास गर्न सकिने बताए ।
युवा नेता शिवकुमार साह तेलीले श्रद्धालुको सुविधाका लागि खानेपानी, शौचालय, स्नानस्थल, सुरक्षा तथा सडक व्यवस्थामा क्रमिक सुधार भइरहेको जानकारी दिए । उनले मेलाको विकास सबै सरोकारवालाको साझा जिम्मेवारी भएको उल्लेख गरे ।
हाल साउन महिनाभर सञ्चालन हुने मेला वैशाख, श्रीपञ्चमी तथा महाशिवरात्रिमा समेत केही दिन आयोजना हुने गरेको छ । मेला समितिले यसलाई वर्षभरि सञ्चालन गर्ने योजना अघि सारेको छ । चारकोसे वन, प्राकृतिक सौन्दर्य, पवित्र नदी तथा जङ्गल सफारीको सम्भावनालाई उपयोग गर्दै तीनै तहका सरकारले ठोस नीति ल्याउन सके स्थानीय रोजगारी सिर्जना तथा पर्यटन प्रवर्द्धनमा ठूलो योगदान पुग्ने स्थानीयको विश्वास छ ।
कार्यक्रममा मेला समितिका पदाधिकारी, स्थानीय सरोकारवाला तथा श्रद्धालुको सहभागिता रहेको थियो ।