पर्साको सखुवाप्रसौनी गाउँपालिका–१ सिद्धपुरमा केही दिनअघि शङ्कास्पद अवस्थामा मृत्यु भएकी ३७ वर्षीया लक्ष्मी खड्काको घटनामा निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाहीको माग गर्दै सोमबार वीरगंजमा प्रदर्शन गरिएको छ ।
मृतकका माइती पक्ष, आफन्त तथा स्थानीयवासीले घटनाको सत्यतथ्य सार्वजनिक गर्न र अनुसन्धानलाई कुनै पनि दबाब वा प्रभावबाट मुक्त राख्न माग गर्दै प्रदर्शन गरेका हुन् ।
प्रदर्शनका क्रममा सहभागीहरूले ‘लक्ष्मीलाई न्याय देऊ’, ‘दोषीलाई तत्काल कारबाही गर’, ‘घटनाको सत्यतथ्य सार्वजनिक गर’ र ‘न्यायमा ढिलाइ भनेको अन्याय हो’ लगायतका नारासहित सडक प्रदर्शन गरेका थिए । उनीहरूले घटना भएको लामो समय बितिसक्दा पनि अनुसन्धानको स्पष्ट निष्कर्ष सार्वजनिक हुन नसक्नु गम्भीर विषय भएको बताएका छन् ।
प्रदर्शनकारीहरूले घटनाको सत्यतथ्य लुकाउने वा अनुसन्धानलाई प्रभावित पार्ने कुनै पनि प्रयास स्वीकार्य नहुने चेतावनी दिएका छन् । उनीहरूले निष्पक्ष छानबिनमार्फत घटनाको वास्तविकता बाहिर ल्याई दोषी देखिए जोसुकै भए पनि कानुनी दायरामा ल्याउन माग गरेका छन् ।
ठोरी गाउँपालिका–३ बुद्धनगरका बालकुमार बस्नेतले लक्ष्मीको मृत्यु सामान्य घटना नभई गम्भीर अनुसन्धानको विषय भएकाले निष्पक्ष छानबिन गरी वास्तविक दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने बताए । त्यस्तै, प्रदर्शनमा सहभागी रुद्र खड्काले पीडित परिवारले न्याय नपाएसम्म आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने चेतावनी दिए ।
मृतकका माइती पक्षले लक्ष्मीको मृत्यु प्रकरणमा उनका पति सुधीर सिलवालको परिवारको संलग्नता रहेको आरोप लगाएका छन् । यद्यपि, उक्त आरोपबारे अनुसन्धान निकायले हालसम्म कुनै आधिकारिक निष्कर्ष सार्वजनिक गरेको छैन । त्यसैले आरोपको सत्यता पुष्टि वा खण्डन निष्पक्ष अनुसन्धानबाटै हुनुपर्ने प्रदर्शनकारीहरूको भनाइ छ ।
प्रदर्शनकारीहरूले राज्यका सम्बन्धित निकायलाई कुनै पनि दबाब, प्रभाव वा पहुँचका आधारमा अनुसन्धानलाई कमजोर नबनाउन आग्रह गरेका छन् । कानून सबैका लागि समान हुने मान्यतालाई व्यवहारमै कार्यान्वयन गर्दै घटनाको सत्यतथ्य यथाशीघ्र सार्वजनिक गर्न उनीहरूले माग गरेका छन् ।