नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । ललितपुरको जावलाखेलस्थित हेलियस अस्पतालमा उपचारका क्रममा श्रेष्ठको निधन भएको हो ।
प्याङ्क्रियाजको क्यान्सरबाट पीडित श्रेष्ठको केही समयदेखि हेलियस अस्पतालमा उपचार भइरहेको थियो । उपचारकै क्रममा उनको निधन भएको नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।
श्रेष्ठको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि बुधबार बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने भएको छ । त्यसपछि शवयात्रासहित पशुपति आर्यघाटमा लगेर अन्त्येष्टि गर्ने तयारी गरिएको छ ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले यही साउन ७ गते श्रेष्ठलाई पार्टीको वरिष्ठ नेता घोषणा गरेका थिए । पार्टीमा उनले पुर्याएको योगदानको सम्मान गर्दै वरिष्ठ नेता बनाइएको सभापति थापाले बताएका थिए ।
श्रेष्ठ स्याङ्जाबाट पटक–पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनले भौतिक योजना, वन, उद्योग, शिक्षालगायत विभिन्न मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका थिए । पञ्चायतकालदेखि नै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय श्रेष्ठले प्रजातान्त्रिक आन्दोलनका क्रममा पाँच वर्षभन्दा बढी समय जेल जीवन बिताएका थिए ।
नेपाली कांग्रेस विभाजनपछि शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेस (प्रजातान्त्रिक)मा आबद्ध भएका श्रेष्ठ उपसभापति बनेका थिए । देउवा जेल परेका बेला श्रेष्ठले नेपाली कांग्रेस (प्रजातान्त्रिक)को कार्यवाहक सभापतिको जिम्मेवारीसमेत सम्हालेका थिए ।
२०६२/०६३ को जनआन्दोलनका क्रममा उनी नेपाली कांग्रेस (प्रजातान्त्रिक)का कार्यवाहक सभापति थिए । कांग्रेस एकीकरणपछि उनी नेपाली कांग्रेसको उपसभापति बने ।
पछिल्लो समय भने श्रेष्ठ देउवा निकट नरहेको बताइन्थ्यो । गत पुसमा भएको विशेष महाधिवेशनमा सहभागी भएका उनले अब पार्टीमा युवाको नेतृत्व स्थापित हुनुपर्ने धारणा राख्दै आएका थिए ।