वीरगंज महानगरपालिका–२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदी पक्राउको विरोधमा वीरगंज महानगरपालिकाका ३२ वटै वडा कार्यालय अनिश्चितकालका लागि बन्द भएका छन् ।
वडाध्यक्ष चतुर्वेदीलाई प्रहरीले पक्राउ गरेको विरोधमा महानगरका सम्पूर्ण वडाध्यक्षहरूले संयुक्त रूपमा विरोध जनाउँदै साउन १३ गतेदेखि अत्यावश्यक सेवाबाहेकका सबै कामकाज बन्द गर्ने निर्णय गरेका हुन् ।
वडा कार्यालय बन्द भएसँगै महानगरका वडाबाट प्रदान हुँदै आएका सिफारिस, दर्ता, प्रमाणितलगायतका नियमित प्रशासनिक सेवाहरू प्रभावित भएका छन् । सेवाग्राहीहरू वडा कार्यालय पुगेर पनि सेवा लिनबाट वञ्चित भएका छन् ।
वडाध्यक्षहरूको भनाइअनुसार, गत साउन ९ गते वीरगंज–२५ निवासी राजकुमार कुर्मीको नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएपछि घटना विवादमा आएको थियो । चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु भएको आरोप लगाउँदै मृतकका परिवार तथा आफन्तले अस्पताल परिसरमा विरोध प्रदर्शन गरेका थिए ।
उक्त घटनापछि पीडित परिवार, प्रशासन र सम्बन्धित पक्षबीच सहजीकरण गर्ने क्रममा वडाध्यक्ष चतुर्वेदीले राखेको भनिएको धारणालाई आधार बनाएर प्रहरीले उनलाई पक्राउ गरेको वडाध्यक्षहरूको आरोप छ । वडाध्यक्षहरूले चतुर्वेदीलाई वीरगंज महानगरपालिका कार्यालय परिसरबाटै पक्राउ गरिएको भन्दै आपत्ति जनाएका छन् । नगरवासीको समस्या समाधानका लागि पहल गर्ने जनप्रतिनिधिमाथि नै प्रहरीले अनावश्यक धरपकड गरेको उनीहरूको आरोप छ।
यसअघि साउन १२ गते वीरगंज महानगरका वडाध्यक्षहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै वडाध्यक्ष चतुर्वेदीलाई तत्काल रिहा गर्न स्थानीय प्रशासनसँग माग गरेका थिए। तर प्रशासनले माग सम्बोधन नगरेपछि बाध्य भएर सेवा बन्द गर्ने निर्णय लिनुपरेको उनीहरूले बताएका छन्।
वडाध्यक्षहरूले पक्राउ परेका चतुर्वेदीलाई तत्काल सम्मानपूर्वक रिहा नगरिए थप कडा विरोधका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन्। आन्दोलनका क्रममा उत्पन्न हुने कुनै पनि असहज परिस्थितिको जिम्मेवारी स्थानीय प्रशासनले लिनुपर्ने उनीहरूको भनाइ छ ।
यता, वडा कार्यालय बन्द हुँदा सर्वसाधारण सेवाग्राही प्रत्यक्ष प्रभावित भएका छन् । जन्मदर्ता, विवाह दर्ता, बसाइँसराइ, सिफारिसलगायतका कामका लागि आउने सेवाग्राहीहरू समस्यामा परेका छन्। यद्यपि अत्यावश्यक सेवाहरू भने सञ्चालनमा रहने जनाइएको छ ।