नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिटको विरोधमा भएको आन्दोलन सरकार र नेपाल चिकित्सक संघबीच भएको ५ बुँदे सहमतिपछि फिर्ता भएको छ । तर, उक्त सहमतिमा अस्पतालको विकास, दरबन्दी, स्रोत साधन तथा स्वास्थ्य सेवा सुधारका विषय समेटिएकै छैन् ।
आन्दोलनका क्रममा उठाइएका मुख्य मागमध्ये चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाही गर्ने विषय सहमतिमा समेटिए पनि नारायणी अस्पतालको संरचनागत सुधार, आवश्यक जनशक्ति व्यवस्थापन, उपकरण तथा स्रोत साधन उपलब्ध गराउने विषय भने एक शब्दपनी कहिकतै उल्लेख भएको छैन् ।
नारायणी अस्पतालमा उपचारका क्रममा वीरगञ्ज–२५ निवासी राजकुमार कुर्मीको मृत्यु भएपछि विवाद उत्पन्न भएको थियो । मृतक परिवारले चिकित्सकको लापरबाहीको आरोप लगाउँदै विरोध जनाएका थिए जसक्रममा चिकित्सकमाथिकाे अाक्रमणले देशभर स्वास्थ्यसंस्था ठप्प रहेका थिए । अस्पताल पक्षले सीमित स्रोत साधन र जनशक्तिका बाबजुद उपचार प्रयास गरिएको बताउँदै आएको छ ।
घटनापछि भएको आन्दोलनमा चिकित्सकहरूले सुरक्षा, दोषीमाथि कारबाहीसँगै अस्पतालको सेवा सुधारका विषय पनि उठाएका थिए । तर सरकारसँग भएको ५ बुंदे सहमतिमा दरबन्दीअनुसार चिकित्सक तथा नर्सको व्यवस्था, उपकरण र स्रोत साधन विस्तारलगायत विषय समेटिएको छैन् ।
आलोचकहरूका अनुसार बिरामीको मृत्यु वा स्वास्थ्य संस्थामा विवाद हुँदा पटक–पटक उठ्ने मुख्य समस्या अस्पतालमा पर्याप्त जनशक्ति र स्रोत साधनको अभाव हो । तर पछिल्लो सहमतिमा यी विषयलाई प्राथमिकतामा नराखिएको बताएका छन् ।
यस घटनामा वीरगञ्ज महानगरपालिका–२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदी र पर्साका तत्कालीन प्रहरी प्रमुख सुदीप पाठक पनि विवादको केन्द्रमा परेका छन् । स्थानीयको पक्षमा आवाज उठाएका वडाध्यक्ष चतुर्वेदी पक्राउ परेका थिए भने सुरक्षा व्यवस्थापनको विषयमा प्रहरी प्रशासनमाथि पनि प्रश्न उठाइए तत पश्चात प्रहरी उपरिक्षक पाठककाे सरूवा भयाे ।
स्थानीय स्तरमा भने आन्दोलनले नारायणी अस्पतालको दीर्घकालीन सुधारका लागि अपेक्षित उपलब्धि दिन नसकेको टिप्पणी शुरू भएकाे छ । चिकित्सकमाथि भएको आक्रमणको विषयमा कारबाही आवश्यक भए पनि अस्पताल सुधारका विषय सहमतिमा नआउनु दुःखद भएको सरोकारवालाहरूले बताएका छन् ।
एक वरिष्ठ चिकित्सकले नाम उल्लेख नगर्ने सर्तमा भने, “दरबन्दीअनुसार चिकित्सक र आवश्यक स्रोत साधनको माग उठेपछि सरकारी अस्पतालमा कार्यरत केही चिकित्सकको निजी संस्था प्रभावित हुने भएकाले पनि यस्ता विषय ओझेलमा पर्ने गरेकाे तिताे अनुभव सुनाएका छन् ।”