पर्सा राष्ट्रिय निकुञ्जमा पछिल्लो चार वर्षको अवधिमा बाघको संख्या उल्लेखनीय रूपमा बढेको छ ।
सन् २०२२ मा ४१ वटा रहेको बाघको संख्या बढेर हाल ७१ पुगेको छ । विश्व बाघ दिवसका अवसरमा बुधबार कृषि, वन तथा वातावरण मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार पर्सा राष्ट्रिय निकुञ्जमा हाल ७१ वटा बाघ रहेका छन् । चार वर्षमा ३० वटा बाघ थपिनु संरक्षण अभियानको महत्वपूर्ण उपलब्धि मानिएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाका अनुसार बाघको संख्या वृद्धि हुनुमा ‘बाघ मित्र कार्यक्रम’ प्रभावकारी साबित भएको छ ।
“बाघ संरक्षणमा उल्लेखनीय सफलता मिलेको छ। अब बाघ–मानव सहअस्तित्व कार्यक्रमलाई थप प्रभावकारी बनाउन आवश्यक छ, अन्यथा भविष्यमा बाघ संरक्षण चुनौतीपूर्ण बन्न सक्छ,” खतिवडाले बताए । यसअघि सन् २०१८ मा गरिएको गणनामा पर्सा राष्ट्रिय निकुञ्जमा १८ वटा मात्रै बाघ रहेका थिए । पछिल्लो गणनामा एउटा बाघ बाहेक सबै बाघ निकुञ्जको कोर क्षेत्रमा भेटिएको उनले जानकारी दिए ।
मन्त्रालयका अनुसार हाल नेपालभर बाघको कुल संख्या ४ सय २९ पुगेको छ । जसमध्ये चितवन राष्ट्रिय निकुञ्जमा १ सय ४५, बर्दिया राष्ट्रिय निकुञ्जमा १ सय १२, पर्सा राष्ट्रिय निकुञ्जमा ७१, बाँके राष्ट्रिय निकुञ्जमा ५१ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ५० वटा बाघ रहेका छन् ।
यसअघि सन् २०२२ मा नेपालमा ३ सय ५५ वटा बाघ गणना गरिएको थियो। त्यसअघि सन् २०१८ मा २ सय ३५, सन् २०१४ मा १ सय ९८ र सन् २०१० मा १ सय २१ वटा बाघ रहेका थिए । हरेक वर्ष जुलाई २९ मा विश्व बाघ दिवस मनाइन्छ । सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा सम्पन्न बाघ शिखर सम्मेलनपछि बाघ संरक्षणप्रति विश्वव्यापी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले यो दिवस मनाउन थालिएको हो ।
बाघलाई स्वस्थ पारिस्थितिक प्रणालीको सूचक तथा प्राकृतिक खाद्य शृंखलाको उच्च तहमा रहेको महत्वपूर्ण वन्यजन्तु मानिन्छ ।