पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले सामाजिक सञ्जालमार्फत धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्ने किसिमका भ्रामक सामग्री पोस्ट, लाइक, कमेन्ट वा सेयर नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन् ।
शुक्रबार जारी गरिएको सार्वजनिक अपिलमार्फत प्रमुख जिल्ला अधिकारी दाहालले फेसबुक, टिकटक, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालमा धार्मिक तथा सामाजिक द्वेष फैलाउने, उत्तेजना सिर्जना गर्ने तथा शान्ति–सुरक्षामा प्रतिकूल असर पार्ने भ्रामक समाचार, अफवाह, फोटो तथा भिडियोहरू प्रसारण वा साझेदारी नगर्न अनुरोध गरेका हुन् ।
हालको परिस्थितिलाई मध्यनजर गर्दै उनले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन तथा कुनै पनि प्रकारका जुलुस, प्रदर्शन वा भीडभाडमा सहभागी नहुन पनि सर्वसाधारणसँग अपिल गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी दाहालले भावनामा बहकिएर कानुन हातमा लिने, सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने, तोडफोड वा अन्य गैरकानुनी गतिविधिमा संलग्न हुने कार्य पूर्ण रूपमा दण्डनीय रहेको स्पष्ट पारेका छन् ।
उनले सामाजिक सद्भाव, शान्ति र सुरक्षा कायम राख्न सबै नागरिकलाई संयमित, जिम्मेवार र सचेत व्यवहार गर्न आग्रह गर्दै प्रशासनसँग आवश्यक सहयोग गर्न समेत अनुरोध गरेका छन् ।