वीरगंजमा शुक्रबार आयोजित सद्भाव र्याली सम्पन्न भएलगत्तै घण्टाघर क्षेत्रमा केही समय तनावपूर्ण अवस्था सिर्जना भएको छ ।
स्थानीय प्रशासन र जनप्रतिनिधिहरूको संयुक्त आयोजनामा निकालिएको सद्भाव र्याली सकिएपछि हिन्दु समुदायका केही युवाहरूले सुनसरी र सिराहालगायतका घटनाको विरोध गर्दै घण्टाघर क्षेत्रमा टायर बालेर प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा अवस्था नियन्त्रणमा लिन प्रहरीले सुरक्षा सतर्कता बढाएको थियो । सोही क्रममा घण्टाघर क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच केहीबेर धकेलाधकेल भएको जनाइएको छ । यद्यपि, सुरक्षा निकायले स्थिति नियन्त्रणमा लिएको जनाएको छ ।
घटनापछि वीरगंजका संवेदनशील क्षेत्रमा सुरक्षा व्यवस्था थप कडा पारिएको छ । सम्भावित अप्रिय घटना रोक्न नेपाल प्रहरी तथा अन्य सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको छ ।
जिल्ला प्रशासनले सबै पक्षलाई संयमता अपनाउन, अफवाहमा विश्वास नगर्न तथा सामाजिक सद्भाव र शान्ति कायम राख्न सहयोग गर्न आग्रह गरेको छ ।