वीरगंज महानगरपालिका वडा नम्बर २६ मा नवनिर्मित वडा कार्यालय तथा स्वास्थ्य चौकी भवनको उद्घाटन गरिएको छ । एक समारोहबीच वीरगंज महानगरपालिकाका कार्यवाहक नगर प्रमुख इम्तियाज आलमले दुवै भवनको उद्घाटन गर्नुभएको हो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै कार्यवाहक नगर प्रमुख आलमले वडा नम्बर २६ का नागरिकलाई सहज र प्रभावकारी सेवा उपलब्ध गराउन आफू प्रतिबद्ध रहेको बताउनुभयो ।
उहाँले वडाको विकास र पूर्वाधार निर्माणका काममा महानगरपालिकाबाट आवश्यक सहयोग निरन्तर रहने उल्लेख गर्दै भन्नुभयो, “मसँग हुने सम्पूर्ण सहयोग यस वडावासीका लागि गर्नेछु । आगामी दिनमा यस वडामा हुने विकास निर्माणका काममा म सदैव अगाडि रहनेछु ।”
कार्यक्रममा वडा नम्बर २६ का अध्यक्ष शम्भु मिश्राले भवन निर्माणमा कार्यवाहक नगर प्रमुख आलमको महत्वपूर्ण सहयोग रहेको बताउनुभयो । करिब १ करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न भएका वडा कार्यालय र स्वास्थ्य चौकी भवन निर्माणमा उहाँको विशेष भूमिका रहेको भन्दै अध्यक्ष मिश्राले धन्यवाद व्यक्त गर्नुभयो ।
“उहाँको सहयोगबिना यो भवन निर्माण सम्भव हुने थिएन । यसको सम्पूर्ण श्रेय कार्यवाहक नगर प्रमुख इम्तियाज आलमलाई दिन चाहन्छु,” उहाँले भन्नुभयो ।
त्यस्तै, वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर बोहराले आफ्नै सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण भएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले महानगरका सबै ३२ वटै वडाको आफ्नै कार्यालय भवन हुनुपर्नेमा जोड दिनुभयो ।
नवनिर्मित वडा कार्यालय र स्वास्थ्य चौकी भवन सञ्चालनमा आएपछि स्थानीय सेवाग्राहीले सहज, छिटो र प्रभावकारी सेवा पाउने अपेक्षा गरिएको छ ।
उद्घाटन कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्ष, वडा सदस्य, नागरिक समाजका अगुवा तथा स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता रहेको थियो ।