जबरजस्ती करणी मुद्दामा अदालतबाट १८ वर्ष कैद सजाय सुनाइएका फरार प्रतिवादीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्साको पोखरिया नगरपालिका–२ लमरिया निवासी २३ वर्षीय सदाम अन्सारी रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्सा मातहतको इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको फैसला कार्यान्वयन टोलीले विशेष सूचनाका आधारमा बिहीबार दिउँसो लमरिया सडकखण्डबाट उनलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार पर्सा जिल्ला अदालतले २०७८ फागुन २९ गते जबरजस्ती करणी मुद्दामा अन्सारीलाई १८ वर्ष कैद सजाय सुनाएको थियो ।
फैसलापछि फरार रहेका उनलाई पक्राउ गरी कैद भुक्तानका लागि पर्सा जिल्ला अदालतमा पेश गर्ने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।