सेवा, मित्रता र अन्तर्राष्ट्रिय सद्भावको मूल मन्त्रलाई आत्मसात गर्दै इनर व्हील क्लब अफ वीरगंजको दोस्रो पदस्थापन समारोह वीरगंजस्थित होटल पूजनमा सम्पन्न भएको छ ।
समारोहमा डा. प्रिति गुप्तालाई इनर व्हील वर्ष २०२६–२७ का लागि क्लबको अध्यक्ष पदमा विधिवत् पदस्थापन गरिएको हो । समारोहमा इनर व्हील जिल्ला अध्यक्ष डा. सृष्टि श्रेष्ठ प्रजापति प्रमुख अतिथि तथा जिल्ला सचिव मञ्जु शाक्य विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो । उहाँहरूले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै महिला नेतृत्व, सामाजिक उत्तरदायित्व र सामुदायिक सेवामा क्लबको भूमिका अझ प्रभावकारी बन्ने विश्वास व्यक्त गर्नुभयो ।
नयाँ कार्यसमितिमा तत्कालीन अध्यक्ष (आईपीपी) मञ्जरी श्रेष्ठ, सचिव निभा दास, उपाध्यक्ष निलम व्याहुत, कोषाध्यक्ष सरिता यादव, आईएसओ प्रियंका झा, सम्पादक लक्ष्मी कर्ण दत्ता लगायतका पदाधिकारी चयन भएका छन् ।
कार्यक्रममा रोटरी तथा रोटर्याक्ट क्लबका पदाधिकारी, चिकित्सक, समाजसेवी, उद्योगी–व्यवसायीलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
नवनियुक्त अध्यक्ष डा. प्रिति गुप्ताले आफ्नो कार्यकालमा महिला सशक्तीकरण, स्वास्थ्य, शिक्षा, वातावरण संरक्षण तथा मानवीय सेवाका क्षेत्रमा प्रभावकारी कार्यक्रम सञ्चालन गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।