पोलियो रोगको पूर्ण उन्मूलन गर्ने उद्देश्यले विभिन्न सङ्घसंस्थाको सहभागितामा आइतबार वीरगंजमा जनचेतनामूलक र्याली आयोजना गरिएको छ ।
पोलियो उन्मूलनसम्बन्धी जनचेतना फैलाउने उद्देश्यले रोटरी क्लब अफ वीरगंज, रोटरी क्लब अफ वीरगंज मेट्रोपोलिसलगायत विभिन्न सङ्घसंस्थाले संयुक्त रूपमा र्याली आयोजना गरेका हुन् । वीरगंजबाट सुरु भएको र्याली भारतसँगको सीमावर्ती क्षेत्र रक्सौलस्थित मितेरी पुलसम्म पुगेर कोणसभामा परिणत भएको थियो ।
कात्तिक ७ गतेदेखि सुरु भएको पोलियो अन्त्य सप्ताहको समापनका अवसरमा आयोजित र्यालीमा सहभागीहरूले विभिन्न जनचेतनामूलक ब्यानर तथा ‘इन्ड पोलियो नाउ’ लेखिएका टिसर्ट लगाएका थिए । र्यालीमा साइकल, मोटरसाइकल, स्कुटी तथा चारपाङ्ग्रे सवारीसाधनसहित रोट्र्याक्ट क्लब, इन्ट्र्याक्ट क्लब र इनर ह्विलका सदस्यहरूको सहभागिता रहेको थियो ।
रोटरी क्लब अफ वीरगञ्जका अध्यक्ष रोटरियन राकेश मिश्रले बालबालिकालाई पोलियो रोगबाट सुरक्षित राख्नुका साथै नियमित खोपको महत्त्वबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए ।
पोलियो रोगलाई विश्वबाटै पूर्ण रूपमा उन्मूलन गर्न आवश्यक रहेको उल्लेख गर्दै उनले यसका लागि समुदायस्तरमा जनचेतना फैलाउनु महत्त्वपूर्ण रहेको बताए ।
र्यालीमार्फत पोलियोविरुद्धको अभियानमा सबैको सहभागिता आवश्यक रहेको सन्देश प्रवाह गरिएको आयोजकले जनाएका छन् ।